काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दीपक खड्काले मन्त्रालय सम्हालेको वर्षदिन पुगेको अवसरमा आफूले गरेका कामहरुको विवरण सावर्जनिक गर्नुभएको छ ।
बिहीबार मन्त्रालयमा पत्रकार सम्मेलनको आयोजना गर्दै मन्त्री खड्काले २०८१ असार ३१ गते बनेको वर्तमान सरकारको सहकारी मन्त्रीमा नियुक्त भए यता मन्त्रालयमार्फत भएका कामहरुको विवरण सार्वजनिक गर्नुभएको हो । आफ्नो एक वर्षे कार्यकालमा ऊर्जा, प्रशारण लाइनको र सिंचाईको क्षेत्रमा उल्लेख्य प्रगति गरेको दाबी गर्नुभएको छ ।
उहाँले सिँचाईतर्फ ८५ प्रतिशतभन्दा बढी कार्यसम्पादन गरेको उल्लेख गर्दै समग्र मन्त्रालयको ७८.१७ प्रतिशत प्रगति हासिल भएकाे जिकिर गर्नुभयो । मन्त्री खड्काका अनुसार १ बर्षको अवधीमा ६३१ मेगावाट विद्युत उत्पादन बढाएर विद्युत जडित क्षमता ३ हजार ८ सय ७८ मेगावाट पुगेको छ । उहाँले सन् २०३५ सम्ममा २८ हजार ५ सय मेगावाट विद्युत उत्पादन गरी ऊर्जा विकास र विस्तार तथा समृद्धिको सपना पूरा गर्न कार्ययोजनासमेत सार्वजनिक गरिएको बताउनु भयो ।
मन्त्री खड्काले १५ हजार मेगावाट विजुली भारत र बंगलादेशलाई नियार्त गर्ने सम्झौता भइसकेको उल्लेख गर्दै १३ हजार ५ सय मेगावाट विद्युत स्वदेशमै खपत गरिने लक्ष्य लिइएको उल्लेख गर्नुभयो । उहाँले बंगलादेशसँग ४० मेगावाट विद्युत बिक्री सम्झौता गरी ५ महिनामा १ अर्ब २५ करोडभन्दा बढी आम्दानीको सुनिश्चितता भएको बताउनु भयो । उहाँले हाल ८५० मेगावाट विद्युत निर्यात भइरहेको दाबी गर्नुभयो । मन्त्री खड्काले नविकरणीय ऊर्जा तथा ऊर्जा दक्षता विधेयक, जलस्रोत विधेयक, विद्युत विधेयक संसदमा विचाराधिन रहेको उल्लेख गर्दै सिंचाई र नदी व्यवस्थापन विधेयकको मस्यौदासमेत तयार भएको बताउनु भयो ।
उहाँले निजी क्षेत्रको समेत सहभागितामा आन्तरिक तथा अन्तरदेशीय विद्युत व्यापारसम्बन्धी कार्य गराउन आवश्यक नीतिगत तथा नियमनकारी व्यवस्था सम्बन्धमा विस्तृत अध्ययन गर्न समिति गठन गरी कार्य अगाडि बढाइएको पनि बताउनु भयो ।
फेसबुकबाट तपाईको प्रतिक्रिया