आजदेखि कार्यान्वयनमा आयो 'नयाँ बजेट'

277 Shares

काठमाडौं । साउन १ गते (आज) बाट नयाँ आर्थिक वर्ष अर्थात २०८२/०८३ का लागि गत जेठ १५ मा उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले ल्याउनुभएको बजेट कार्यान्वयनमा आएको छ । अर्थ मन्त्रालयले नयाँ बर्षका लागि बजेट कार्यान्वयन मार्गदर्शन बनाइसकेको छ । साउन १ गते नै सबै मन्त्रालय, विभाग, निकायहरुलाई सर्कुलर गरेर बजेट कार्यान्वयनमा आएको हो ।

अर्थमन्त्री विष्णु पौडेलले २०८२/०८३ का लागि १९ खर्ब ६४ अर्बको बजेट ल्याउनुभएको थियो । सरकारले आगामी वर्षमा चालु शिर्षकमा ११ खर्ब ८० अर्ब, पुँजीगततर्फ ४ खर्ब ७ अर्ब र वित्त व्यवस्थापनमा ३ खर्ब ७५ अर्ब २४ करोड रुपैयाँ खर्च गर्ने योजनासहित बजेट छुट्याएको छ । उक्त बजेटका लागि स्रोतका रूपमा राजश्वबाट १३ खर्ब १५ अर्ब, वैदेशिक अनुदानबाट ५३ अर्ब ४५ करोड व्यहोरिने सरकारी योजना छ । यस्तै, वैदेशिक ऋणबाट २ खर्ब ३३ अर्ब र आन्तरिक ऋणबाट ३ खर्ब ६२ अर्ब व्यहोर्ने योजना छ ।

सरकारले जेठ १५ मा २०८२/०८३ का लागि ल्याएको बजेटमध्ये करसम्बन्धी व्यवस्था कार्यान्वनयमा गइसकेका छन् । बजेट संघीय संसदबाट पास भइसकेकाले अब कार्यान्वयनमा लैजान सरकारलाई कुनै अप्ठ्यारो छैन । सरकारले यस वर्ष आर्थिक गतिविधि विस्तार, निजी क्षेत्रको लगानी बृद्धि, रोजगारीको अवसर बृद्धि, पूर्वाधार आयोजना निर्धारित समयमै सम्पन्न हुनेसहित ६ प्रतिशतको आर्थिक बृद्धि हासिल गर्ने लक्ष्य राखेको छ ।