साउन महिनाका लागि वाणिज्य  बैंकहरूले थप घटाए ब्याजदर

322 Shares

काठमाडौँ। जेठ र असार महिनामा स्थिरजस्तै रहेको ब्याजदर साउन महिनाका लागि भने  घटेको छ । नेपाल राष्ट्र बैंकको दबाबपछि अधिकांश बैंकहरूले साउन महिनाका लागि घटाएर ब्याजदर सार्वजनिक गरेका हुन् ।

राष्ट्र बैंकले गत शुक्रबार मौद्रिक नीति सार्वजनिक गर्दै नीतिगत दरलाई ५ बाट ४.५ प्रतिशतमा झारेको घोषणा गरेकाे । त्यस्तै स्थायी तरलता सुविधा दर ६.५ बाट ६ प्रतिशत र स्थायी निक्षेप सुविधा संकलन दर ३ बाट २.७५ प्रतिशतमा झारिएकाे थियाे  । यसले बैंकहरूलाई ब्याजदर घटाउनका लागि दबाब पुगेपछि साउनका लागि निक्षेपकाे  ब्याजदर घटेकाे हाे । असारको तुलनामा साउनमा १४ वटा बैंकले व्यक्तिगत मुद्दती निक्षेपको अधिकतम ब्याजदर घटाएका छन् । चार वटाले स्थिर राखेका छन् भने २ वटा बैंकले भने बढाएका छन् ।

बैंकहरूले सार्वजनिक गरेको नयाँ ब्याजदर तालिका अनुसार असारको तुलनामा साउनमा व्यक्तिगत मुद्दतीको अधिकतम औसत ब्याजदर ०.२१५ प्रतिशत विन्दुले घटेको छ । असार महिनाका लागि व्यक्तिगत मुद्दतीको अधिकतम औसत ब्याजदर ५.९०२ प्रतिशत रहेकोमा साउन महिनाका लागि ५.६८७ मा कायम भएको छ । हिमालयन बैंकले व्यक्तिगत मुद्दतीको अधिकतम ब्याजदर ०.५ प्रतिशत विन्दुले बढाएको छ भने स्टान्डर्ड चार्टर्डले जम्मा ०.०१ प्रतिशत विन्दुले बढाएको छ ।

बैंकहरुबाट पर्याप्त कर्जा जान नसक्दा नेपाल राष्ट्र बैंकमा प्रणालीको ७ खर्ब रुपैयाँ थन्किएको छ । चालु आर्थिक वर्षको ३१ असारसम्म केन्द्रीय बैंकले वित्तीय प्रणालीको ६ खर्ब ९२ अर्ब ६५ करोड रुपैयाँ अधिक तरलता खिचेर राखेको छ ।