काठमाडौँ । नेपाली काँग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले स्वदेशी तथा विदेशी लगानीकर्तालाई नेपालमा ढुक्कसँग लगानी गर्ने वातावरण बनाउनुपर्ने बताउनुभएको छ ।
मंगलबार काठमाडौंमा इप्पानको २३ औं वार्षिक साधारण सभालाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । लगानीका लागि आउने जो सुकैलाई पनि सहज र सरल माध्यमबाट लगानी गर्ने वातावरण बनाउनुपर्ने बताउनु भयो । लगानीकर्तालाई दुःख दिने कुरा सरकारले सोच्नै नसक्ने बताउँदै उहाँले उत्पादित विद्युतको खपत र व्यापार गर्ने दायित्व सरकारको भएको पनि उल्लेख गर्नुभयो ।
यसका लागि निजी क्षेत्रलाई पनि सहभागी गराउनु जरुरी रहेको बताउनु भयो । जलविद्युत आयोजनाहरुको आइपिओ निष्कासन रोक्नु गलत भएको र धितोपत्र बोर्डले चाँडै शेयर निष्कासन गर्ने बताउनु भयो । ऊर्जा क्षेत्र नेपालमा प्रकृतिले दिएको सम्पत्ती भएको बताउँदै पूर्वप्रधानमन्त्री देउवाले ग्रिन इनर्जीमा बढी जोड दिन पनि आग्रह गर्नुभयो ।
देउवाले नेपालको आर्थिक तथा सामाजिक विकासमा प्राप्त उपलब्धिको पछि देशले अघि बढाएको उदारवाद निजीकरणको नीति रहेको बताउनु भयो । यसको कार्यान्वयनका क्रममा भएका कमजोरीको अन्त्य गरी निजी क्षेत्रलाई थप प्रोत्साहित गर्नुपर्ने बताउनु भयो । निजी क्षेत्रबाट उत्पादन बढ्दै जानु खुशीको कुरा भएको उल्लेख गर्दै आज देशभित्र लोडसेडिङ नरहेको उहाँकाे भनाइ थियाे ।
फेसबुकबाट तपाईको प्रतिक्रिया