काठमाडौँ । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था (इप्पान) का अध्यक्ष गणेश कार्कीले ऊर्जा क्षेत्रका लागि तत्काल ‘सनसेट ल’ बनाइ लागू गर्नुपर्ने माग गर्नुभएको छ।
मंगलबार काठमाडौंमा इप्पानको २३ औं वार्षिक साधारण सभालाई सम्बोधन गर्दै उहाँले यस्तो माग गर्नुभएको हो । उहाँले वर्तमान सरकारले ल्याएको ऊर्जा विकास मार्गचित्र, २०८१ देशलाई समृद्ध बनाउने एउटा महत्वपूर्ण योजना र दस्तावेज भएपनि यसको कार्यान्वयन अन्योलग्रस्त रहेको बताउनु भयो । वन ऐन, वातावरण ऐन, राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, हिमाली राष्ट्रिय निकुञ्ज, मध्यवर्ती क्षेत्र ऐन तथा यीसँग सम्बन्धित नियमावलीहरु र कार्यविधिहरु विकासमैत्री नरहेको उहाँले जिकिर गर्नुभयो ।
राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐनमा लगानी सम्मेलनको पूर्वार्धमा भएको संशोधन कार्यान्वयन हुन नपाउँदै सम्मानित सर्वोच्च अदालत संवैधानिक इजलासबाट अन्तरिम आदेश जारी भएर करिब १९ हजार मेगावाट क्षमताको २१७ वटा आयोजनासमेत रोकिएको उल्लेख गर्नुभयो । सरकारले ऊर्जा विकासबाट देशमा आर्थिक समृद्धि हासिल गर्न, रोजगारी सिर्जना गर्न, वैदेशिक मुद्रा आर्जन गर्नका लागि साथै ऊर्जा पूर्वाधार विकासका लागि आगामी १० वर्ष ऊर्जा विकास दशक घोषणा गरी ऊर्जा विकासमा अवरोधक रहेका (वन, वातावरण, भूमि सम्वन्धी) कानूनहरुको निलम्वनको लागि ऊर्जा विकास संकटकाल घोषणा गर्नुपर्ने माग गर्नुभयो । देश धनी बनाउनका लागि स्वदेशमै विद्युत खपत बढाउनु आवश्यक रहेको कार्कीकाे भनाइ थियाे ।
फेसबुकबाट तपाईको प्रतिक्रिया