काठमाडौँ । सरकारले नेपाल बीमा प्राधिकरणका अध्यक्ष शरद ओझामाथि छानबिन गर्न न्यायिक समिति गठन गरेको छ ।
मन्त्रिपरिषद्को साेमबार बसेको बैठकले अध्यक्ष ओझाको योग्यताबारे छानबिन गर्न उच्च अदालतका पूर्वन्यायाधीश कृष्ण गिरीको संयोजकत्वमा तीन सदस्यीय समिति गठन गरेको हो । समितिमा बीमा विज्ञ कपिल ओली र एक जना अर्थशास्त्री सदस्य रहनु भएको छ ।
सरकारले गत फागुन १२ गते ओझालाई बीमा प्राधिकरणको अध्यक्षमा नियुक्त गरेको थियो । उहाँले अध्यक्ष हुन पेस गरेका कागजातमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले समेत छानबिन गरिरहेको छ । यो समितिलाई पनि उहाँको योग्यता र कार्यशैलीप्रति छानबिन गर्ने कार्यादेश दिइएको छ।
सरकारले समिति गठन गरेसँगै ओझा स्वतः निलम्बित हुनुभएको छ । अख्तियारले फर्जी काजजात पेस गरेको जान्दाजान्दै के आधारमा नियुक्ति दिइएको हो भन्ने प्रश्न उठाएपछि छानबिनका लागि सरकारले समिति गठन गरेको हो ।
फेसबुकबाट तपाईको प्रतिक्रिया