क्रिकेटर आरिफ क्यास्पियन भ्याली कलेजको ब्राण्ड एम्बेसडर

298 Shares

काठमाडाैं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका सदस्य आरिफ शेख क्यास्पियन भ्याली कलेजको ब्राण्ड एम्बेसडरमा नियुक्त भएका छन्।

क्यास्पियन भ्याली कलेजले बानेश्वरमा आइतबार पत्रकार सम्मेलन आयोजना गर्दै क्रिकेटर आरिफ शेखलाई आफ्नो ब्रान्ड एम्बेसडरमा नियुक्त गरेको हो । कलेजका प्रिन्सिपल मनिष पण्डित र क्रिकेटर आरिफले सम्झौतापत्रमा हस्ताक्षर गरेका थिए । यो सम्झौता एक वर्षको हुनेछ । यद्यपी सहकार्य आगामी वर्षमा पनि निरन्तरता दिनेगरी सम्झौता गरिएको कलेजले जनाएको छ ।  तर यो सम्झौताको रकमबारे भने उल्लेख गरिएको छैन ।

क्यास्पियनका प्रिन्सिपल पण्डितले विद्यार्थीलाई शैक्षिक प्रमाणपत्रसँगै उनीहरूमा व्यवहारिक ज्ञान र अतिरिक्त क्रियाकलाप पनि आवश्यक पर्ने उल्लेख गर्दै क्रिकेटर आरिफ शेखसँगकाे सहकार्यले आफ्ना विद्यार्थीमा मनोबल बढ्ने आशा व्यक्त गरे । 

सो अवसरमा आरिफले आफ्नो जीवनमा क्रिकेटले धेरै आत्मविश्वास बढाएको उल्लेख गर्दै कलेजसँगको सहकार्यले आफ्नो करियरमा धेरै मद्दत पुग्ने बताए । क्रिकेटर आरिफ युवाहरूको रोल मोडल भएकाले विद्यार्थीको मनोबल बढाउन उनलाई कलेजको ब्राण्ड एम्बेसडर नियुक्त गरिएको कलेजले जनाएको छ । आरिफले ६१ एकदिवसीय खेलमा ९ अर्धशतकसहित एक हजार तीन सय २६ रन र आठ विकेट लिएका छन् । उनले टी ट्वान्टीमा ४३ खेलमा ५३८ रन र चार विकेट लिएका छन् ।