रसुवा बाढीले नेपालतर्फका १० भन्दा बढी जलविद्युत आयोजनामा क्षति

250 Shares

काठमाडाैं । गत मंगलबार चीनको तिब्बत हुँदै नेपाल प्रवेश गर्ने लेहेन्दे खोला (भोटेकोशी)मा आएको बाढीले नेपालतर्फका १० भन्दा बढी जलविद्युत आयोजनामा क्षति पुर्याएको छ।

स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था (इप्पान) का अनुसार रसुवा र नुवाकोटमा निर्माणाधीन तथा निर्माण सम्पन्न भइसकेका ती आयोजनामा क्षति पुगेको हो । इप्पानकाअनुसार उक्त बाढीबाट सञ्चालनमा रहेका करिब २५० मेगावाट हाराहारीका जलविद्युत आयोजनाको उत्पादन बन्द हुनुका साथै ३५० मेगावाटभन्दा बढी क्षमताका आयोजनाको निर्माण कार्य रोकिँदा ती आयोजनामा निकै ठूलो भौतिक र आर्थिक क्षति भएको छ । 

१११ मेगावाट क्षमताको रसुवागढी जलविद्युत, ६० मेगावाटको त्रिशुली ३ ए जलविद्युत, २५ मेगावाटको त्रिशुली जलविद्युत केन्द्र, २२ मेगावाटको चिलिमे जलविद्युत, १४ मेगावाटको माथिल्लो मैलुङ, १४ मेगावाटकै देवीघाट जलविद्युत परियोजना र ५ मेगावाटको मैलुङ खोला जलविद्युतको उत्पादन बन्द भएको छ । यी मध्ये मैलुङ, माथिल्लो मैलुङ, देवीघाट र त्रिशूली जलविद्युत केन्द्रको विद्युत प्रवाह हुने त्रिशूली ३ बी हब सवस्टेशनमा क्षति भएका कारण उत्पादन बन्द भएको इप्पानले एक प्रेस विज्ञप्तीमार्फत बिहीबार जानकारी दिएको छ । 

इप्पानका अनुसार देवीघाट, त्रिशूली र त्रिशूली ३ ए बाहेक अन्य सबै जलविद्युत आयोजना निजी क्षेत्रसमेतको सहभागीतामा निर्माण भएका आयोजना हुन् भने निर्माणाधीन अवस्थाका सबै आयोजना निजी क्षेत्रको अगुवाइमा निर्माण भइरहेका जलविद्युत आयोजना हुन् ।
त्यस्तै निर्माणाधीन आयोजनाहरुमा २१६ मेगावाटको माथिल्लो त्रिशूली १, १०० मेगावाटको सुपर त्रिशूली, ३७ मेगावाटको त्रिशुली ३ बी जलविद्युत आयोजनामा पनि बाढीले क्षति पुर्याउँदा यी आयोजनाको निर्माण कार्य रोकिएको छ । 

त्रिशूली नदी करिडोरको विद्युत प्रशारण गर्ने त्रिशूली ३ बी हब सवस्टेशन र प्रसारणलाइनमा समेत क्षति पुगेका कारण यहाँबाट उत्पादन हुने विद्युत आगामी केही दिनसमम उत्पादन र प्रसारण नहुँदा हरेक दिन करोडौं रुपैयाँको उत्पादन घाटा व्यहोर्नुपर्ने देखिएको छ ।

इप्पानले जारी गरेको विज्ञप्तिमा भनिएको छ–‘टिमुरे सुख्खा बन्दरगाहबाट दर्जनौं मालबाहक कन्टेनर र भन्सार बिन्दुमा राखिएका सयौं गाडीहरुसमेत बाढीले बगाएको, निर्माणाधीन सुख्खा बन्दरगाह पूर्णरुपमा खण्डहर बनेको र नेपाल–चीन मुख्य व्यापारिक नाकाको पुल नै बगाउँदा यसले नेपाली व्यवसायीहरुमा पारेको प्रभावप्रति पनि गहिरो दुःख व्यक्त गर्दछौं । नेपाल र चीनबीच वार्षिक १ खर्ब रुपैयाँभन्दा बढीको व्यापार हुने मुख्य नाका बन्द हुँदा यसले नेपाल सरकारको राजस्व संकलनमा समेत गम्भीर असर पार्ने हुँदा जतिसक्दो छिटो नाका सुचारु हुने वातावरण बनाउन पनि सरकारसँग आग्रह गर्दछौं ।’

बाढी पहिरोले विध्वंश मच्चाइरहेको बेलामा समेत रसुवागढी जलविद्युत आयोजनामा कार्यरत ३६ जनासहित करिब १५० जना नागरिकको उद्धारमा नेपाल सरकार, नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीले देखाएको तदारुक्ताका लागि संवद्ध सबै निकायलाई धन्यवाद व्यक्त गर्दै क्षतिग्रस्त संरचनाको पुनःनिर्माणमा आवश्यक नीतिगत र प्रक्रियागत सहजीकरण गरी विद्युत उत्पादन र प्रसारण हुने व्यवस्था मिलाउन तथा थप जनधनको क्षति हुन नदिन आवश्यक कार्यहरु अघि बढाउन पनि नेपाल सरकारसँग इप्पानले आग्रह गरेको छ ।