
काठमाडौं । नेपालले एसीसी पुरुष यू–१६ इस्ट जोन कपको उपाधि जितेको छ।
अघिल्लो संस्करणमा पनि जित हात पारेको नेपालले लगातार दोस्रोपटक उक्त उपाधि हात पारेको हो।
शनिबार बिहान भएको फाइनल खेलमा सिंगापुरलाई २ विकेटले हराउँदै नेपाल विजेता भयाे । सिंगापुरले दिएको १ सय १४ रनको सामान्य लक्ष्य नेपालले २९ ओभरमा ८ विकेटको क्षतिमा भेट्टायो।
नेपालका लागि जय थापा २४ र अभय यादव १० रनमा अविजित रहे। नवौँ विकेटका लागि जय र अभयले २५ रनको साझेदारी गर्दै नेपाललाई जिताएका हुन् । विकेट किपर शिवांश बजगाईंले २० रन बनाए भने शुभम् खनालले १८ रन थपे। प्रसिद्ध जैसीले १७ तथा परिमार्जन यादवले १३ रन बनाए।
त्यसअघि टस जितेर ब्याटिङ गरेको सिंगापुर ४०.५ ओभरमा १ सय १३ रन बनाउँदा अलआउट भयो। सिंगापुरलाई सस्तैमा रोक्न नेपालका अभय यादव र सुशीलबहादुर रावलले समान ३ / ३ विकेट लिए।
विपिनप्रसाद शर्माले १० ओभरमा ३ मेडन राख्दै १४ रन खर्चेर एक विकेट आफ्नो नाममा गरे । अभयले १० ओभरमा २ मेडन राख्दै ३४ रन खर्चिए । शुभम खनालले दुई विकेट झारे।
सिंगापुरका लागि रोहन अरुणले बनाएको २३ रन नै सर्वाधिक रह्यो। उनले ८४ बलमा २ चौका प्रहार गरे। कप्तान रियान नायक १५ रन बनाउँदै क्याच आउट भए।
फेसबुकबाट तपाईको प्रतिक्रिया