काभ्रे । जिल्लाको रोशी गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि ७२ करोड ४ लाख ३७ हजार रुपैयाँको बजेट प्रस्तुत गरेको छ ।
गाउँसभाको १७ औँ अधिवेशनको मंगलबार सम्पन्न बैठकमा पालिका अध्यक्ष दिनेश लामाले नीति तथा कार्यक्रम र उपाध्यक्ष मिमबहादुर वाइबाले बजेट, विनियोजन विधेयक तथा आर्थिक विधेयक प्रस्तुत गरेका थिए ।
रोशीको बजेटको खर्च व्यहोर्नुपर्ने स्रोततर्फ आन्तरिक स्रोत १ करोड २६ लाख रुपैयाँ, स्थानीय राजस्व बाँडफाँटबाट २ करोड ५० लाख रुपैयाँ, राजस्व बाँडफाँडबाट ९ करोड ५० लाख ६० हजार रुपैयाँ, प्रदेश राजस्व बाँडफाँटबाट ३ करोड ९९ लाख ५६ हजार रुपैयाँ, सङ्घीय समानीकरण अनुदान १० करोड २५ लाख रुपैयाँ, सशर्त अनुदान ३२ करोड ५१ लाख रुपैयाँ, समपूरक अनुदान ९९ लाख र विशेष अनुदान ८९ लाख रुपैयाँ प्राप्त हुने अनुमान गरिएको छ ।
त्यस्तै प्रदेश समानीकरण अनुदान १ करोड २ लाख ५० हजार रुपैयाँ, सशर्त अनुदान २ करोड ७० लाख २७ हजार रुपैयाँ, समपूरक अनुदान २ करोड ८५ लाख रुपैयाँ र विशेष अनुदान ६५ लाख रुपैयाँ प्राप्त हुने अनुमान रहेको छ ।
एकल पुरुषलाई भत्ता
पालिकाको सामाजिक विकास नीतिमा ६० वर्ष नाघेका एकल पुरुषलाई सामाजिक भत्ता दिने प्रस्ताव समेत गरेको छ । यसअघि महिलालाई मात्र दिइँदै आएको भत्ता आगामी आर्थिक वर्षबाट एकल पुरुषलाई पनि दिने घोषणा गरिएको हो । उनीहरूलाई दोहोरो लाभ नपर्ने गरी सामाजिक संरक्षण कार्यक्रममा समावेश गर्ने घोषणा गरिएको हो । त्यस्तै, ६० वर्षभन्दा माथिका ज्येष्ठ नागरिकका लागि निःशुल्क स्वास्थ्य बीमालाई पनि आगामी वर्षमा निरन्तरता दिइने भएको छ ।
स्थानीय उत्पादनको प्रवर्द्धन सुशासन तथा संस्थागत विकास अन्तर्गत सरकारी कार्यालयहरूमा आयातित कोल्ड ड्रिंक्स (पेयपदार्थ)लाई निरुत्साहित गरिने नीति ल्याइएको छ । त्यसको सट्टा दूध, दही, महीलगायतका स्थानीय पेय पदार्थको प्रयोगलाई प्रोत्साहन गरिनेछ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया