काठमाडौं । चालु आर्थिक वर्षको बितेका ११ महिनामा झन्डै ८ लाख जनाले वैधानिकरुपमा श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा गएका छन् । वैदेशिक रोजगार विभागका अनुसार चालु आर्थिक वर्षको साउनदेखि गत जेठ मसान्तसम्मको अवधीमा कुल ७ लाख ६० हजार ३ सय ९१ जनाले श्रम स्वीकृति लिएका छन् ।
यसपाली विभागबाट श्रम स्वीकृति लिएर विभिन्न मुलुकहरूमा जाने नेपाली कामदारको आकर्षण संयुक्त अरब इमिरेट्स (युएई) मा देखिएको छ । सो अवधीमा वैदेशिक रोजगारीमा नेपाली जाने रोजगारदाता मुलुकहरु मध्ये पहिलो स्थानमा युएई रहेको छ ।
नेपाली कामदारको पहिलो स्थानमा रहेको श्रम गन्तव्य मुलुक युएईमा मात्र झन्डै दुई लाख जनाले श्रम स्वीकृति लिएका छन् । युएई अघिल्लो वर्षदेखि लगातार वैदेशिक रोजगारीमा जाने नेपाली कामदारको पहिलो श्रम गन्तव्य मुलुक भएको छ ।
सो अवधिमा नेपाली कामदारको दोस्रो र तेस्रो आकर्षक श्रम गन्तव्य मुलुक साउदी अरब र कतार भएको छ । अघिल्लो वर्ष दोस्रो श्रम गन्तव्य देशमा कतार र तेस्रोमा साउदी अरब परेको थियो । दुई वर्षअघिको पहिलो स्थानमा रहेको श्रम गन्तव्य देश मलेसिया यसपाली भने सातौं स्थानमा रहेको छ । नेपाली कामदारको चौथो श्रम गन्तव्य मुलुक कुवेत परेको छ । त्यसपछि पाँचौं र छैटौं श्रम गन्तव्य मुलुक जापान र बहराइन परेको वैदेशिक रोजगार विभागको तथ्यांकमा उल्लेख छ ।
विभागका अनुसार गत आर्थिक वर्ष २०८०/८१ मा ७ लाख ४१ हजार जनाले श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा गएका थिए । सो संख्या गत आवको भन्दा चालु आर्थिक वर्षको १९ हजार ३ सय ९१ जनाले बढी हो ।
गत जेठसम्ममा हरेक महिना करिब ६९ हजार १ सय २६ जना नेपालीले श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा गएको देखिन्छ । सो तथ्यांकलाई दिनमा हिसाब गर्दा पनि हरेकदिन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट श्रम स्वीकृति लिएर विदेशिने नेपाली कामदारको संख्या झन्डै २ हजार ५ सय जना हुने गरेको छ ।
वैदेशिक रोजगार विभागले सार्वजनिक गरेको तथ्यांक बमोजिम चालु आर्थिक वर्ष २०८१-८२ को साउनदेखि जेठ महिनासम्मको अवधिमा वैधानिकरुपमा श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा जाने मध्ये ६ लाख ७५ हजार १ सय ३५ जना पुरुष कामदार रहेका छन् । ८५ हजार २ सय ५६ जना महिला कामदार रहेका छन् । यो संख्या व्यक्तिगत, संस्थागत र पुनः श्रम स्वीकृति लिने अथवा नवीकरण गरेर जानेहरुको भएको विभागले जनाएको छ ।राजधानीबाट
फेसबुकबाट तपाईको प्रतिक्रिया