धुलिखेल । नेपाल रेडक्रस सोसाइटी वागमती प्रदेशको आयोजनामा काभ्रेको धुलिखेलस्थित काठमाडौं विश्वविद्यालयको सभाहलमा शनिबार छैठौं प्रदेशस्तरिय जुनियर तथा युवा रेडक्रस शिविर सम्पन्न भएको छ।
वागमति प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाले कार्यक्रमको उद्घाटन गर्नुभएकाे हाे । काठमाडौं विश्वविद्यालयको समन्वय, नेपाल रेडक्रस सोसाइटी काभ्रे शाखाको आतिथ्यता तथा नेरेसो वागमती प्रदेशको आयोजनामा कार्यक्रम भएको हो । ‘युवाको प्रतिबद्धता नवप्रर्वतनबाट मानवीय सेवामा विशिष्ठता’ नारासहित सम्पन्न कार्यक्रममा प्रदेशभरका विभिन्न जिल्लाका युवा रेडक्रसकर्मीलगायत विभिन्न संघसंस्थाका व्यक्तित्वहरुको उपस्थिती रहेको थियो ।

कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री लामाले रेडक्रसका सात सिद्धान्तमा रहेर काम गर्न रेडक्रस अगाडि बढ्दै आएको चर्चा गर्दै विद्यालयस्तरबाट रेडक्रसको भावना अगाडि बढाउन जुनियर तथा युवा रेडक्रस शिविरले ठूलो महत्व राख्ने बताउनुभयो । रेडक्रसले विपद्मा नागरिकको उद्धार तथा स्वास्थ्य क्षेत्रमा सहयोग गर्दै आइरहेको कार्यको प्रशंसा गर्नुभयो । आफैंले ल्याएको बजेटमा असन्तुष्टि जनाउँदै मुख्यमन्त्री लामाले सबैतिर बजेट छरिँदा कतैपनि प्रभावकारी काम हुन नसकेको स्विकार गर्नुभयो ।
मुख्यमन्त्री लामाले भन्नुभयो, ‘यति धेरै योजना भयो की, योजना कता हो कता भयो । मलाई पहिला सम्झना छ, तित्राको बच्चा नभेटेको जस्तै भयो । हामीले सबैतिर आँखा लगायौं, तर तित्राको बच्चा कहिल्यै पनि भेटिएन । पछि थाहा भयो, एउटालाई मात्रै हेर्यो भने सम्भव हुनेरहेछ, धेरै तित्राको बच्चा हेर्यो भने एउटा पनि नभेटिनेरहेछ ।’

उहाँले योजनाको प्राथमिकीकरण गर्न नसकेको स्विकार गर्नुभयो । आफूले १३ हजार योजनाबाट केहि योजना घटाउन चाहेको भएपनि नसकेको बताउँदै पहिले नै फोहोर भइसकेका कारण सफा गर्न गह्रो भएको बताउनुभयो ।
कार्यक्रममा उपस्थितहरुलाई रेडक्रस काभ्रेका सभापति देवेन्द्रप्रसाद भैलले स्वागत गर्नुभएको थियो । नेपाल रेडक्रस सोसाइटी वागमति प्रदेशका सभापति भोलानाथ रुपाखेतीको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा वागमति प्रदेश योजना तथा नीति आयोगका सदस्य गुणराज मोक्तान, बुद्धशान्ति मावि, चितवनकी जुनियर रेडक्रस सभापति रश्मी विक, नेरेसो केन्द्रका प्रमुख प्रशासकीय अधिकृत धर्मदत्त बिडारी, बनेपा नगरपालिकाका मेयर शान्तिरत्न शाक्यलगायतले रेडक्रसका कार्यहरुको चर्चा गर्दै आपतमा रेडक्रस नागरिकको साथी बनिरहेको र आगामी दिनमा पनि यसरी नै काम गर्न आग्रह गर्नुभयो । कार्यक्रम शुरु हुनुअघि बिहान बनेपादेखि काठमाडौं विश्वविद्यालयसम्म प्रभातफेरीको आयोजना गरिएको थियो ।

कार्यक्रममा रेडक्रसका विभिन्न समयमा नेतृत्वमा रहेर काम गरिसकेका रेडक्रसकर्मी, पूर्वसभापतिलगायतलाई सम्मान पनि गरिएको थियो । साथै जिल्लाका नागरिकलाई रगत उपलब्ध गराउन रेडक्रसले शुरु गरेको अभियानको अक्षयकोषमा आर्थिक सहयोग गर्ने दाताहरुलाई सम्मान गरिएको थियो । यसैक्रममा मध्यमार्ग साप्ताहिकका सम्पादक प्रदीप केसी बञ्जारालाई पनि सम्मान गरियो । उहाँले सो कोषमा २५ हजार ५५५ नगर सहयोग गर्नुभएको थियो ।

तस्बीरहरुः ज्ञानमणि नेपाल कालाेटाेपी
फेसबुकबाट तपाईको प्रतिक्रिया