उत्पादन बढी हुँदा तरकारी सस्तो, किसानले मूल्य पाउनै छोडे

408 Shares

काठमाडाैं । पछिल्लो समय उत्पादन बढी हुँदा तरकारी सस्तो हुनुका साथै बिक्री गर्नसमेत व्यापारीलाई हम्मेहम्मे पर्न थालेको छ ।

अन्य खेतीपाती गर्न छाडेर धेरैले तरकारी खेती गर्न थालेपछि उत्पादन बढी भएका कारण बजारमा ज्यादा तरकारी आएको व्यापारीहरुले बताए । कालीमाटी फलफूल तथा तरकारी बजारमा व्यापार गर्दै आउनुभएका चेतबहादुर थिङले तरकारी उत्पादन ज्यादा भएपछि तरकारीको मूल्य न्युन भएको र बेच्नसमेत नसक्ने अवस्था आएको बताउनु भयो । 

उहाँका अनुसार पहिले धान रोप्ने खेतमा अहिले धेरैले तरकारी लगाउन थालेपछि उत्पादन ज्यादा भएको बताउनु भयो । धादिङ, सर्लाही, काभ्रे, मकवानपुर लगायतबाट राजधानीमा तरकारी भित्रने गरेको छ । खेतबारीको तरकारी सिधिएपछि असार साउनबाट भाउ बढ्नसक्ने सम्भावना  छ । लौका १५–२० रुपैयाँ, करेला २०–२५ रुपैयाँ, बोडी १५–२० रुपैयाँमा बेच्नु परेकोले कुनै भाउ छैन । न व्यापारीलाई फाइदा न किसानलाई । 

व्यापारीहरुका अनुसार अहिले तरकारी नबिकेर कुहिएर फाल्नुपरेको छ । तरकारी नबिकेपछि आफूहरुलाई ठूलो मात्रामा घाटा लागिरहेको उनीहरुको भनाइ छ । कालीमाटीमा व्यापार गर्दै आउनुभएका अर्का व्यापारी विष्णु कार्कीले पनि उत्पादन बढी भएकै कारण तरकारीको भाउ सस्तो हुन पुगेको बताउनु भयो । उहाँले नेपाली तरकारीसँगै भारतीयसमेत केही आएकाले बजारमा धेरै तरकारी भएको बताउनु भयो । 

देशको अवस्थासमेत ठिक नभएका कारण मान्छेको क्रयशक्ति कमजोर भएकाे र तरकारी विक्री नभएको कार्कीको बुझाइ छ । तरकारीसँगै फलफूलको मूल्यसमेत गत वर्षको भन्दा सस्तो रहेको कालीमाटीका व्यापारीहरुको भनाइ रहेको छ । 

कालीमाटी फलफूल तथा तरकारी विकास समितिले मंगलबारका लागि लोकल गोलभेंडा २९, ठूलो गोलभेंडा ९५, मकैबोडी ४६, मटरकोुा १५२, लौका १७, घिरौंला ३२, रायोकाे साग ४२ र न्युरो प्रतिकिलो २८ रुपैँयाँ तोकेको छ । त्यस्तै, कन्य च्याउको भाउ १ सय ४५ रुपैयाँ तोकिएको छ भने कुरिलो प्रतिकिलो ३०० रुपियाँ तोकिएको छ ।