चलचित्र विकास बोर्डले पच्चीस चलचित्र निर्मातालाई सम्मान गर्ने

89 Shares

काठमाडौँ । चलचित्र विकास बोर्डले पछिल्लो २५ वर्षमा धेरै कमाइ गर्ने २५ चलचित्र निर्मातालाई सम्मान गर्ने भएको छ । 

बोर्ड स्थापना भएको वर्ष विसं २०५७ असार १६ देखि विसं २०८२ जेठ मसान्तसम्म धेरै कमाइ गर्ने चलचित्रका निर्मातालाई उक्त सम्मान प्रदान गर्न लागिएको बोर्डका अध्यक्ष दिनेश डिसीले जानकारी दिए ।

‘बोर्डको पच्चीसौँ स्थापना दिवसको अवसर पारेर हामीले २५ चलचित्र निर्मातालाई सम्मान गर्नेछौँ । यसका लागि न्यूनतम पाँच करोडभन्दा धेरै कमाइ भएको चलचित्रका निर्माताले प्रमाण खुल्ने कागजातसहित सात दिनभित्र बोर्डमा निवेदन दिनुपर्नेछ । व्यक्तिगत लगानीबाट चलचित्र क्षेत्रलाई योगदान पुर्याएकालाई यस कार्यले हौसला मिल्ने हाम्रो विश्वास छ’, उनले भने ।

उनले निवेदनसँगै सम्बन्धित वर्षको चलचित्र निर्माण कम्पनीको लेखापरीक्षणको कागजपत्र र वितरकले निर्मातालाई भुक्तानी गरेको प्रमाण खुल्ने कागजपत्र पेस गर्नुपर्ने बताए । अध्यक्ष डिसीका अनुसार आगामी असार १६ गते उक्त सम्मान प्रदानसँगै ‘रियल टाइम बक्सअफिस’को सुरुआत, बोर्डका सेवालाई अनलाइनबाट प्रदान गर्ने लगायतका कार्य सुरुवात गरिने छ । रासस