आज १३ औँ राष्ट्रिय कृषक दिवस मनाइँदै, किसानहरुकाे अवस्था भने दयनीय बन्दै

570 Shares

काठमाडौं । कृषि प्रधान देश नेपालमा आज १३ औँ राष्ट्रिय कृषक दिवस मनाइँदै छ । 

देशभरका कृषकहरुको सम्मानको लागि मनाइने यो दिवसका दिन देशभित्रका कृषि पेसा र सेवामा लागेका कृषकको प्रोत्साहन र सम्मानको लागि विभिन्न कार्यक्रमको आयोजना गर्ने गरिन्छ । यस वर्षको मुख्य नारा: "कृषक कर्मको धार, देश विकासको मुख्य आधार" रहेकाे छ । 

राष्ट्रिय कृषक महासंघ नेपालले आज याे दिवस मनाउँदै छ। विसं २०७० सालदेखि प्रत्येक वर्ष महासंघ अन्तर्गतको कृषक सेवा समितिले दिवस मनाउँदै आएको हाे । दिवसको अवसर पारेर देशभरका कृषि क्षेत्रमा लागेका उत्कृष्ट कृषकहरुलाई सम्मान गर्ने गरिन्छ भने आधुनिक र विकसित कृषि प्रणालीबारे सचेतना दिने कार्यक्रमहरुको आयोजना पनि गरिन्छ ।

राष्ट्रिय कृषक महासंघ नेपाल राष्ट्रिय कृषक दिवस व्यवस्थापन समितिले विशेषगरी खाद्यान्न उत्पादन गरी मानव लगायतका प्राणीको जीवन रक्षामा लागेका कृषिकर्मीलाई समयसापेक्ष कृषि प्रणालीको ज्ञान र सीप सिकाएर व्यवसायीक बनाउनुपर्नेमा जोड दिएको छ ।

राष्ट्रिय तथ्याङ्क कार्यालयका अनुसार नेपालमा हाल ५० दशमलव १ प्रतिशत जनसंखया कृषिमा पेसामा आश्रित छन् । राष्ट्रिय कृषक दिवस तथा किसान सम्मान तथा हकहित संरक्षण समिति नेपालले पनि याे दिवस मनाउन सबैलाई आव्हान गरेकाे छ । 

किसान दिवस मनाइरहँदा देशका किसानकाे अवस्था र उनीहरुले झेल्नु परेका समस्याका बारेमा भने सराेकारवाला निकाय चुपचाप देखिन्छन् ।