काभ्रे । काभ्रेकाे मण्डनदेउपुर नगरपालिका-९ स्थित डेडीथुम्का मावि पूर्वविद्यार्थी शिक्षा सम्मेलन मूल आयोजक समितिको सचिवालय बैठक बसेकाे छ । साे बैठकले केही महत्वपूर्ण निर्णय गरेको छ। शनिबार बसेकाे बैठकले आगामी जेठ १५ गते गरिने शिक्षा सम्मेलनकाे तयारीसँग सम्बन्धित महत्वपूर्ण निर्णयहरु गरिएकाे आयाेजक डेडीथुम्का फाउण्डेसनका प्रवक्ता बलराम सापकाेटाले जानकारी दिनुभयाे ।
सम्मेलनका लागि "गुणस्तरयुक्त शैक्षिक पूर्वाधार, समृद्ध मण्डनदेउपुरको आधार" 'डेडीथुम्का पूर्वविद्यार्थी' भन्ने नारा तय गरिएकाे छ । यस्तै सम्मेलनमा सहभागी हुन अनलाइन प्रिरजिष्ट्रेसन गर्नुपर्ने र प्रवेश शुल्क रु ५०० लिइने निर्णय भएकाे छ । प्रवक्ता सापकाेटाका अनुसार रजिष्ट्रेसन बैशाख २८ गतेदेखि शुरु हुनेछ । यसैगरि सेमिनारमा २ वटा सत्र रहनेछन् । एउटा प्राविधिक सत्र र अर्को साधारण सत्र रहने बताइएकाे छ ।
प्राविधिक सत्रमा एउटा शिक्षासम्बधी कार्यपत्र प्रस्तुत हुनेछ। साे कार्यपत्रले बालविकास, विद्यालय शिक्षा, प्राविधिक शिक्षा, उच्च शिक्षा र जीवन पर्यन्त सिकाइका विषय समेट्नेछ । सेसन चेयर, कार्यपत्र प्रस्तुतकर्ता र उल्लेखित विषयका टिप्पणीकर्ताहरुको प्राविधिक सत्रमा भूमिका हुनेछ । यो सत्र बढीमा २ घण्टाको हुनेछ।
यस्तै नीति र नेतृत्व: शिक्षा सुधारको अवसर र चुनौती विषयक अर्को साधारण सत्र रहनेछ । यो सत्रमा एक जना चेयर, एकजना मोडरेटर र ४ जना प्यानलिस्ट गरी ६ जनाको भूमिका रहनेछ। यसमा सहभागीलाई समेत प्रश्न गर्ने मौका दिइनेछ। यो सेसन बढीमा डेढ घण्टाको हुनेछ।
सम्मेलनमा सहभागी हुन ०३८ सालदेखि ०८१ सम्मका पूर्व विद्यार्थीहरुमा सार्वजनिक आह्वान गरिनेछ। साथै प्रत्येक ब्याचका साथीहरूलाई आ-आफ्नो ब्याचका साथीहरूलाई खबर गर्न अनुरोध गरिनेछ । आगामी जेष्ठ २ गतेभित्र सम्पूर्ण उपसमितिहरुको बैठक सम्पन्न गरि ३ गते सबै ब्याचका २/३ जना आयोजक समिति, उपसमितिहरुको संयुक्त विस्तारित बैठक बस्ने पनि सापकाेटाले जानकारी दिनुभयाे ।
फेसबुकबाट तपाईको प्रतिक्रिया