काठमाडौँ । नेपालको खेल क्षेत्रले जति सफलता र सनसनीपूर्ण अन्तर्राष्ट्रिय नतिजाले चर्चा पाउँछ त्यो भन्दा बढी त्यसभित्र रहेका विवाद र खराब राजनीतिले घेरिने गर्दछ।
राजनीति पार्टीहरूले खेल संघहरुलाई स्वार्थका लागि प्रयोग गरिरहँदा नेपालको खेलकुद क्षेत्रमा विवाद झनै बढ्दै गइरहेको अवस्था छ । त्यस किसिमको विवाद र सदैव द्वन्द्व सिर्जना हुने खेल संघ हो । नेपाली फुटबलको प्रशासकीय निकाय अखिल नेपाल फुटबल संघ (एन्फा) । स्थापनाको सात दशक पार गरिसकेको एन्फामा सदैव आन्तरिक कलहमा परिरहँदा नेपालको फुटबल त्यति राम्रो विकास हुन सकिरहेको छैन । नेतृत्वमा पुग्न विभिन्न गुट उपगुट बनाउँदै सधैँ कलहमा एन्फा पर्दै आएको छ । एन्फाभित्र विवाद भइरहँदा त्यसको केन्द्रमा रहने व्यक्ति हुन्, गणेश थापा । अर्थात पूर्वराष्ट्रिय खेलाडी एवं एन्फामा २१ वर्षे अध्यक्षको नेतृत्व गरेका व्यक्ति ।
उनी विश्व फुटबलको सबैभन्दा उच्च पदमा पुग्ने नेपाली पनि हुन् । थापा एएफसीका पूर्वअध्यक्ष पनि हुन् । तर २०७१ सालदेखि भने उनी नेपाली फुटबलमा सक्रिय थिएनन् । त्यसको एक मात्र कारण हो । भ्रष्टाचारको आरोप उनीमाथि फिफाले १० वर्षको प्रतिवन्ध लगाएको थियो । तर त्यो प्रतिवन्ध केही समयअगाडि मात्र थापाले पूरा गरेका छन् । त्यसयता उनी फेरि नेपाली फुटबलमा सक्रिय हुन थालेका छन् । तर प्रतिवन्धका समयमा पनि उनी भित्रभित्रै नेपाली फुटबलको राजनीतिमा प्रभाव राख्दै आएका पात्र भने थिए । अझ भनौं एन्फाको नेतृत्वमा जान चाहने व्यक्तिले पनि उनकै सहारा लिने गरेका थिए । तीमध्ये एक हुन्, एन्फाका वर्तमान अध्यक्ष पंकजविक्रम नेम्बाङ ।
कर्माछिरिङ शेर्पा नेतृत्वलाई एन्फाको निर्वाचनमा हराउन उनै गणेश थापाले पंकजलाई सघाएका थिए । एक समय गणेश थापाको नेतृत्व नेपाली फुटबलबाटै फाल्नुपर्छ भन्दै कर्माछिरिङ र पंकज दुवै एकै ठाउँमा उभिएका सारथी हुन् । थापालाई भ्रष्टाचारका कारण प्रतिवन्ध लागेपछि थापाको निकटस्थ व्यक्तिहरूलाई एन्फाबाट हटाउन सक्रिय कर्मा र पंकजबीचको सम्बन्ध पनि नेपाली फुटबलको सत्तामा पुगेपछि चिसिन पुग्यो । अहिले यी दुई एकअर्काको कट्टर विरोधी हुन् । कर्मालाई नै हराउन भ्रष्टाचारको प्रतिवन्धमा रहेका थापाको सहारा लिएका पंकजका लागि पनि उनै थापा सबैभन्दा ठूलो समस्या भइरहेका छन् । १० वर्षको प्रतिवन्ध फुकुवा भएपछि थापा अहिले फेरि नेपाली फुटबलमा सक्रिय हुन थालेका छन् ।
सत्तामा पुग्न कहिले कोसँग मिल्ने र कहिले कोसँग मिल्ने यी गुटका कारण नेपाली फुटबलको विकास राम्रोसँग हुन सकिरहेको छैन । नेपालको फुटबल विकासमा मेरुदण्ड मानिने शहीद स्मारक ‘ए’ डिभिजन लिग २०७९ सालयता भएको छैन । तर त्यसमा न त वर्तमान नेतृत्व सक्रिय छ, न त एन्फाको सत्तामा पुग्न फेरि लालयित गुटहरू नै । कहिले गीता राणा र गणेश थापाबीचको द्वन्द्व, कहिले इन्द्रमान तुलाधारले चलाएको विद्रोह र कहिले कर्माछिरिङ नेतृत्वले गरेको चेन्ज एन्फा नामका सत्ता विरोध गतिविधिका कारण नेपालको फुटबल विकासमा असर परिरहेको छ । सत्ताका लागि एकअर्काको विरोध गरिरहने यी गुटले गर्दा नेपाली फुटबलको नतिजामा पनि त्यसको असर परेका छन् ।
फेसबुकबाट तपाईको प्रतिक्रिया