काठमाडाैं । राष्ट्रिय सभा सदस्य वामदेव गौतमले नीति तथा कार्यक्रममा निराशा मात्रै देखिएको बताउनुभएको छ।
सोमबार राष्ट्रिय सभा बैठकमा सरकारले प्रश्तुत गरेको आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रममाथि छलफलमा भाग लिदै उहाँले यस्तो बताउनुभएको हो । उहाँले देशभर सिर्जना भएका समस्याहरुको समाधान दिने गरी नीति तथा कार्यक्रम नआएको बताउनु भयो ।
उहाँले समाजवाद निर्माणका लागि मार्ग निर्देशन हुनेगरी नीति तथा कार्यक्रमले कतै पनि नबोलेको बताउनु भयो । नीतिगत पक्ष बलियो भएपनि कार्यक्रमको पक्ष कमजोर भएको बताउँदै उहाँले विश्वव्यापीरुपमा नेपालको इज्जत प्रतिष्ठामा आँच आउने गरी भइरहेका भ्रष्टाचार अन्त्यका लागि नीति तथा कार्यक्रममा कुनैपनि कार्यक्रम नभएको बताउनुभयाे । उहाँले कर्मचारी, चिकित्सक, शिक्षक लगायतले विभिन्न माग राखेर भइरहेका आन्दोलनलाई समाधान गर्ने गरी कुनै पनि कार्यक्रम नभएको बताउनु भयो ।
राष्ट्रिय सभा सदस्य गौतमले पूर्वराजा ज्ञानेन्द्रले जस्तै गद्दि फर्काइदेउ भनेर मल्लहरु, लिच्छवीहरु तथा २ हजार वर्ष शासन गरेका किराँतले पनि गद्दि माग्नसक्ने भन्दै इतिहासले औचित्यहिन पुष्टि गरिसकेका संस्थालाई चलमलाउन नदिने गरी कानून निर्माण गर्नुपर्ने बताउनु भयो ।
फेसबुकबाट तपाईको प्रतिक्रिया