व्यवस्थाविरुद्ध हुने गतिविधिको प्रतिवाद गर्ने सरकारको नीतिप्रति राप्रपाको आपत्ति

345 Shares

काठमाडाैं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का उपाध्यक्ष बुद्धिमान तामाङले सरकारले अघि सारेको नीति तथा कार्यक्रमप्रति आपत्ति जनाउनुभएको छ ।

प्रतिनिधि सभाको सोमबारको बैठकमा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथि बोल्दै उपाध्यक्ष तामाङले सरकारको नीति तथा कार्यक्रमप्रति आपत्ति जनाउनुभएको हो । सरकारले आगामी आर्थिक वर्षमा वर्तमान व्यवस्थाविरुद्ध हुने गतिविधिको प्रतिवाद गर्ने नीति लिएको राष्ट्रपति रामचन्द्र पौडेलले जानकारी गराउनुभएको थियो । 

उपाध्यक्ष तामाङले जनमतद्वारा हरेक व्यवस्थाको विकल्प खोज्न सकिने संवैधानिक व्यवस्था रहेको उल्लेख गर्दै सरकारको उक्त नीति संविधान विरोधी भएको टिप्पणी गर्नुभयो । उहाँले सरकारले नीति र कार्यपत्रमार्फत नै फरक विचार भएका पार्टीहरुलाई दुःख दिने काम गर्न खोजेको भन्दै त्यसो गर्न खोजिए प्रतिवादमा उत्रिने चेतावनी दिनुभयो । फरक विचार भएकै कारण आफ्ना विचारहरुलाई सम्मान नगरिए युद्धको थालनी गर्ने उहाँको चेतवनी छ । 

सबैको विचार समेट्ने गरेर राष्ट्रिय सहमतिको आधारमा संविधान संशोधन गरिनुपर्ने उहाँको धारणा छ ।