काठमाडाैं । नेकपा (माओवादी केन्द्र)का सांसद शक्तिबहादुर बस्नेतले मुख्य समस्या आर्थिक नीतिमा रहेको बताउनुभएको छ।
प्रतिनिधि सभामा सोमबार आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथि छलफल गर्न बसेको बैठकमा भाग लिँदै उहाँले यस्तो बताउनुभएको हो । उहाँले नीति तथा कार्यक्रमले नेपालको अवस्था, आवश्यकता, अवसर र चुनौतीहरूलाई वस्तुपरक ढङ्गले सम्बोधन गर्न नसकेको बताउनु भयो । उहाँले नीति तथा कार्यक्रम समस्याको केन्द्रमा पुग्नै नचाहेको आरोप लगाउँदै यसले समाधान निकाल्छ भन्नेमा विश्वस्त हुन नसकिने टिप्पणी गर्नुभयो ।
पूर्वमन्त्रीसमेत रहनुभएका बस्नेतले समस्या नीति, संस्थागत व्यवस्थापन, विकास मोडल, शैली र आचरणमध्ये कुनमा हो भनेर त्यसको निरूपण गर्नुपर्ने बताउँदै त्यसो हुन नसक्दा बुझाइमा विविधता देखिँदै आएको जिकिर गर्नुभयो । उहाँले मुख्य समस्या आर्थिक नीति, सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई बुझ्ने कुरा र संवैधानिक व्यवस्था र हामीले अभ्यास गरिरहेको अर्थ राजनीतिको बीचको सामञ्जस्यता कायम राख्न नसक्नुमा रहेको उहाँले स्पष्ट पार्नुभयो । अहिलेको नीति तथा कार्यक्रम निराशाजनक रहेकोले यसले निकास दिन नसक्ने बताउनु भयो ।
फेसबुकबाट तपाईको प्रतिक्रिया