काँग्रेस सांसद मिजारको प्रश्नः निर्माणाधीन संसद भवनको काम सुस्त हुनुमा जिम्मेवार को ?

359 Shares

काठमाडाैं । नेपाली काँग्रेसकी सांसद सीता मिजारले सिंहदरबार परिसरभित्र निर्माण भइरहेको संघीय संसद भवनको प्रगति सुस्त भएको भन्दै सरकारको ध्यानाकर्षण गराउनुभएको छ।

प्रतिनिधि सभाको सोमबारको बैठकमा बोल्दै सांसद मिजारले यस्तो बताउनुभएको हो । उहाँले २०७९ मा सम्पन्न गर्ने लक्ष्यसहित सुरु गरिएको संसद भवन निर्माण आयोजनाको चौथोपटक म्याद थप हुँदासमेत जम्मा ८६ प्रतिशत मात्र भौतिक प्रगति भएको उल्लेख गर्नुभयो । संसदजस्तो संवैधानिक निकायको भवन निर्माणको अवस्था चिन्ताजनक रहेको भन्दै देशका अन्य भूभागमा निर्माणाधिन आयोजनाहरुको अवस्था कस्तो होला ? भन्दै प्रश्न गर्नुभयो । उहाँले निर्माणाधिन भवन निर्माणमा भएको सुस्तताको जिम्मेवारी कसले लिने हो ? भन्ने स्पष्ट जवाफ पनि माग गर्नुभयो ।

प्रधानमन्त्री केपी शर्मा ओलीले २०७६ असोज १ गते सिंहदरबारस्थित पुतली बगैँचामा नयाँ संसद भवन निर्माणको शिलान्यास गर्नुभएको थियो । तीन वर्षमा निर्माण सक्ने लक्ष्यअनुसार काम शुरु गरेपनि समयमा नै सम्पन्न नभएका कारण पटक पटक म्याद थप गरिँदै आएको छ । १५१ रोपनी जग्गामा संघीय संसदका १२ वटा भवन निर्माण हुँदैछन् ।