काठमाडाैं । राष्ट्रिय सभा सदस्यहरुले विभिन्न विकास निर्माणलगायतका विभिन्न विषयमा सरकारको ध्यानाकर्षण गराएका छन् ।
सोमबार बसेको राष्ट्रिय सभा बैठकमा सदस्यहरुले समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराएका हुन् । नेपाली काँग्रेसका सांसद कृष्णबहादुर रोकायले राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्ग अन्तर्गत जाजरकोटको भेरी नदीमा पुल बन्न नसकेकोप्रति सरकारको ध्यानकर्षण गराउनु भयो । उहाँले उक्त नदीमा पुल निर्माण कहिलेसम्म हुन्छ भन्ने बारे सम्बन्धित मन्त्रालयसँग जवाफ माग गर्नुभयो । उहाँले टेण्डर मागको प्रक्रिया शुरु गर्ने भनेको ६ महिना भयो भन्दै अब कहिले निर्माण प्रक्रिया शुरु हुन्छ भन्दै प्रश्न गर्नुभयो ।
नेकपा (एकीकृत समाजवादी) का सांसद घनश्याम रिजालले नेपाल र चीन जोड्ने दोलखाको लामाबगर नाका सञ्चालनमा सरकार उदासिन देखिएको बताउनु भयो । उहाँले पर्यटनलगायत आयात र निर्यातबाट उल्लेख्य राजश्व वृद्धि हुने भएकोले उक्त नाका सञ्चालन र पूर्वाधार निर्माण गर्नुपर्नेमा सरकारको ध्यानाकर्षण गराउनु भयो ।
नेपाली काँग्रेसकी सांसद विष्णुकुमारी सापकोटाले काठमाडौं–नारायणगढ बुटवलको सडक निर्माणमा भइरहेको ढिलासुस्तीका बारेमा सरकारको न्यानाकर्षण गराउनु भयो । उहाँले निर्माणका लागि सबै ठाउँमा एकैपटक सडक भत्काएर सडक अवरुद्ध हुँदा यात्रुले सास्ती भोग्नु परेको बताउनु भयो । उहाँले पटकपटक म्याद थप्दा पनि सडक निर्माण सम्पन्न हुन नसक्नुको कारण सरकारसँग माग गर्नुभयो ।
नेकपा (माओवादी केन्द्र) का सांसद विष्णुबहादुर विश्वकर्माले चैत १५ को घटनामा पूर्वराजा ज्ञानेन्द्र शाहलाई सरकारले तत्काल पक्राउ गरी छानबिन गर्न सरकारको ध्यानाकर्षण गराउनु भयो । उक्त घटनाका सहायक कमाण्डरहरु जेल भएपनि मुख्य कमाण्डर शाहलाई सरकारले पक्राउ गर्न नसकेको उहाँको भनाइ छ । दरबार हत्याकाण्डका समेत योजनाकारसमेत शाह भएको भन्दै सरकारले गिरफ्तार गरी सम्पत्ती छानबिन गर्नुपर्ने उहाँको भनाइ छ ।
राष्ट्रिय सभा सदस्यहरुले आर्थिक अनियमितता, भ्रष्टाचारका उजुरी तथा राष्ट्रिय गौरवका आयोजनाहरुको कामकारबाहीबारे सरकारको ध्यानाकर्षण गराएका थिए ।
फेसबुकबाट तपाईको प्रतिक्रिया