अध्यक्ष दाहाललक्षित सूर्य थापाको टिप्पणी, 'धेरै जिब्रो भएका नेता मानेर सुनिरहनुपर्ने हो ?'

370 Shares

काठमाडाैं । नेकपा (एमाले) का सांसद सूर्यबहादुर थापाले नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाललाई लक्षित गर्दै आजै सरकार ढल्ने खालका वक्तव्यबाजीले मिडिया रङ्गिने र समाजमा ध्वनि प्रदूषण मात्रै बढ्ने काम गरेको बताउनुभएको छ।

सोमबार बसेको प्रतिनिधि सभा बैठकको विशेष समयमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । सांसद थापाले देशमा दुई ठूला दल र अन्य पार्टीहरू मिलेर पालैपालो सरकार चलाउने सहमति गरेर नीति तथा कार्यक्रम ल्याइसकेपछि पनि सरकारविरुद्धका चलखेलहरू जारी रहेको बताउनु भयो । उहाँले ‘सरकार आजै ढल्छ, भोलि नै ढल्छ, मैले सबै मिलाइसकें, अब रहँदैन’ जस्ता अभिव्यक्तिहरू आउने क्रम जारी रहेको र ती झुटा र बकवासहरू निरर्थक सावित भएको जिकिर गर्नुभयो । उहाँले माओवादी अध्यक्ष दाहाललाई लक्षित गर्दै कति वटा जिब्रा भएका र झुटो बोल्नसक्ने काबिल नेता मानेर नेपालीहरूले सुनिरहनुपर्ने हो भन्दै प्रश्न समेत गर्नुभयो ।  

उहाँले दाहाल नेतृत्वको पछिल्लो २० महिनाको शासन देखिएको जिकिर गर्नुभयो । उहाँले त्यति बेलामा पाकिस्तानी मोडलको अभ्यास र भ्रष्टाचारका फाइल खोल्ने हुङ्कारको हविगतलाई देखिएको समेत धारणा राख्नुभयो । उहाँले त्यति बेला कुशासनका अनेक रूप प्रकट भएकोसमेत आरोप लगाउनु भयो ।