निजामती सेवामा १२ प्रतिशत पद दलित समुदायलाई सुरक्षितः मन्त्री गुप्ता

367 Shares

काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले संघीय निजामती सेवामा महिलाका लागि छुट्याएको ५० प्रतिशत पदमध्ये दलित समुदायलाई १२ प्रतिशत छुट्याइएको बताउनुभएको छ । 

आइतबारको राष्ट्रिय सभा बैठकमा पेश भएको ‘दलित समुदायको अधिकार तथा विकास सम्बन्धमा कानूनी व्यवस्थाको आवश्यकतासम्बन्धी प्रतिवेदन २०८१ ’माथिको छलफलमा उठेका प्रश्नहरुको जवाफ दिँदै उहाँले यस्तो बताउनुभएको हो । उहाँले महिला समावेशी पदबाहेकको अन्य पचास प्रतिशत समावेशी पदमध्ये दलित समुदायलाई १५ प्रतिशत पद छुट्याएको बताउनु भयो । 

प्रश्तावित दलितहरुको हक अधिकार तथा विकास ऐन, २०८१ तर्जुमासम्बन्धी अवधारणा पत्र सहमतीका लागि राष्ट्रिय दलित आयोगमा पठाइएको उहाँको भनाइ छ । उहाँले महिला समावेशी पद बाहेकको समावेशी पदको पचास प्रतिशतमध्ये १५ प्रतिशत दलित समुदायका लागि सुरक्षित गरिएको बताउनु भयो ।

मन्त्री गुप्ताले दलित समुदायको सशक्तिकरण कार्य गर्ने संरचनालाई एकीकृत गरी दलित, उपेक्षित, उत्पीडीत वर्ग उत्थान तथा विकास प्राधिकरण गठन गर्ने विषयमा दलित आयोगबाट सकारात्मक धारणा आएको बताउनुभयो ।