मुलुकको आर्थिक विकासमा गैरआवासीय नेपालीले पुर्याएको योगदान महत्वपूर्णः अध्यक्ष दाहाल

366 Shares

काठमाडाैं । पूर्वप्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले गैरआवासीय नेपाली नागरिकले मुलुकको अर्थतन्त्रको विकासमा ठूलो योगदान पुर्याएको बताउनुभएको छ ।

आइतबार गैरआवासीय नेपाली संघ (एनआरएनए)को एकता महाधिवेशनको समापन समारोहलाई सम्बोधन गर्दै अध्यक्ष दाहालले यस्तो बताउनुभएको हो । उहाँले गैरआवासीय नेपाली नागरिकहरु (एनआएन)लाई दिएको प्रमाणपत्र कामकाजीको नभई कागज मात्र भएको उल्लेख गर्दै त्यसलाई कामकाजीको बनाउन पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । 

आफू प्रधानमन्त्री भएकै बेला गैरआवासीय नेपाली नागरिकहरुलाई सामाजिक सुरक्षा कोषमा आवद्ध हुने कार्यक्रम सञ्चालन गरिएको उल्लेख गर्दै अध्यक्ष दाहालले उक्त कोषमा हालसम्म १ सय २० अर्ब रुपैयाँ जम्मा भइसकेको बताउनु भयो । उहाँले गैरआवासीय नेपाली नागरिकको सामाजिक कोषमा जम्मा भएको रकमको सदुपयोग गर्ने जिम्मेवारी सरकार र राजनीतिक नेतृत्वको भएको बताउनु भयो ।  

सुशासन, सामाजिक न्याय र आर्थिक समृद्धिको पक्षमा काम गर्नुपर्ने ऐतिहासिक आवश्यकता महशुस रहेको अध्यक्ष दाहालको भनाइ छ । उहाँले आर्थिक समृद्धि हासिल गर्न एनआएनएसँग भएको स्रोतको सदुपयोग गर्दै ऐतिहासिक सहकार्य आवश्यक रहेको बताउनु भयो । एनआएएनएको नव निर्वाचित कार्यसमितिको अध्यक्षमा महेशकुमार श्रेष्ठ, उपाध्यक्ष ६ जनामा सुनिलकुमार साह, बुद्धिसागर सुवेदी, खगेन्द्र न्यौपाने, लोकप्रसाद दाहाल, मनोजकुमार श्रेष्ठ (गोर्खाली) विश्वास दीप लिम्बू (तिगेला) चयन भएका छन् ।