काठमाडौं । राष्ट्रिय सभाले भारतको ओडिसास्थित कलिङ्गा इन्स्टिच्युट अफ इण्डस्ट्रियल टेक्नोलोजी (केआइआइटी) मा झुन्डिएको अवस्थामा मृत फेला परेकी प्रिसा साहको घटनाको निष्पक्ष छानविन गरी उचित न्याय प्रदान गर्न सरकारलाई निर्देशन दिएको छ ।
आइतबारको राष्ट्रिय सभाको बैठकमा आकस्मिक र शुन्य समयमा उठाएका विषयमा सभाको गम्भीर ध्यानाकर्षण भएको राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहालले बताउनु भयो । सर्लाहीको कविलासी नगरपालिका–८, कविलासी चोक निवासी श्यामप्रसाद साहकी २० वर्षीया छोरी प्रिसा बिहीबार बेलुका कलिङ्गा इन्स्टिच्यूट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआइआइटी) मा झुन्डिएको अवस्थामा मृत फेला पर्नुभएको थियो ।
प्रिसा ओडिसाको उक्त कलेजमा कम्प्युटर साइन्स विषयमा सेकेन्ड सेमेस्टरमा अध्ययनरत हुनुहुन्थ्यो । उहाँले एउटै कलेजमा बारम्बार समान प्रकृतिका घटना घटिरहनु अत्यन्तै दुःखद् पक्ष भएको बताउनु भयो । नेपाल र भारत दुवै देशले कुटनीतिक माध्यममार्फत यस्ता घटना दोहोरिरहनुपर्ने कारणको गहिराइमा गएर खोजी गर्न र आगामी दिनमा यस्ता घटना नघट्ने वातावरण बनाउन साथै यस घटनाको विषयमा निष्पक्षरुपमा सत्यतथ्य छानविन गरी, यथार्थ अवस्था पहिचान गरी निज छात्रालाई उचित न्याय प्रदान गर्न नेपाल सरकारको ध्यानाकर्षण गराउनुभयो ।
उहाँले उक्त कलेजमा अध्ययनरत नेपाली छात्रछात्राले सुरक्षित र निर्भिकताकासाथ अध्ययन गर्ने वातावरण बनाउन पनि सरकारलाई आग्रह गर्नुभयो । आकस्मिक र शुन्य समयमा माननीय सदस्यहरुले उठाउनुभएका अन्य कतिपय गम्भीर विषयमा समेत नियमावलीले तोकेको अवधिभित्र सभामा आइ जवाफ दिन सम्बन्धित मन्त्रीको ध्यानाकर्षण गर्नुभयो ।
फेसबुकबाट तपाईको प्रतिक्रिया