काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले आफ्नो पार्टीलाई जनताको मतको कमी नरहेको बताउनुभएको छ।
शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले नेकपा (एकीकृत समाजवादी) लाई जनमतको कमी नरहेको बताउनुभएको हो । उहाँले गत (२०७९) निर्वाचनमा आदिवासी जनजातिलाई आफ्नो पार्टीसँग जोड्न सकेको भए राष्ट्रिय पार्टी बन्ने दाबी गर्नुभयो ।
आफ्नो पार्टीलाई लाखौँको संख्यामा सहकारी संगठनमा आवद्ध व्यक्ति, एनजिओ, आइएनजिओमा संलग्न व्यक्तिहरुको साथ रहेको दाबी गर्नुभयो । अहिले पनि आफू देश दौडाहामा जाँदा हिमाल, पहाड र तराईका कुनैपनि ठाउँमा पार्टीलाई साथ दिने जनताको कमी महशुस नगरेको बताउनु भयो । पार्टीका कार्यक्रमहरुमा हरेक ठाउँमा हजारौँको संख्यामा जुलुस देखिएको बताउनु भयो । अब नेकपा (एकीकृत समाजवादी) लाई अरु भन्दा ठूलो र शक्तिशाली बनाउने बताउनु भयो । त्यसका लागि आफूले पाएको जिम्मेवारीमा जुट्न निर्देशन दिनुभयो ।
अध्यक्ष नेपालले गणतन्त्रका पक्षधरहरु फेरि पनि मिल्न जरुरी रहेको बताउनु भयो । उहाँले कम्युनिष्ट पार्टीको क्रान्तिकारी धार हराउन नदिन नयाँ पार्टी गठन गरेको जिकिर गर्नुभयो । आफ्नो पार्टी चुप लागेर बस्ने नभइ गतिशिलता, क्रियाशिलतामा विश्वास गर्ने पार्टी भएको बताउनु भयो ।
फेसबुकबाट तपाईको प्रतिक्रिया