अब हामी हाइड्रोजन इनर्जीबाटै सवारी साधन चलाउन सक्छौँः प्रधानमन्त्री

320 Shares

काठमाडाैं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालले अब हाइड्रोजन इनर्जीबाटै सवारी साधन चलाउनसक्ने बताउनुभएको छ।

राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवसको अवसरमा शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले नेपालसँग अब प्रशस्त विद्युत उत्पादन क्षमता रहेको बताउँदै आर्टिफिसियल इन्टेलिजेन्स (एआई)लाई आवश्यक पर्ने विद्युत उपलब्ध गराउनसक्ने बताउनु भयो । उहाँले नेपालसँग हाइड्रोपावर मात्रै नभएर ग्रिन हाइड्रोजन इनर्जी उपलब्ध गराउन सक्ने विश्वास व्यक्त गर्नुभयो । 

प्रधानमन्त्री ओलीले केही दिन अघि आफू हाइड्रोजन ब्याट्रीबाट चलाइएको गाडीमा चढेर एक कार्यक्रममा गएको स्मरण गर्दै हाइड्रोजन इनर्जीबाटै सवारी साधन चलाउन सक्ने ठाउँमा पुगिसकेको र यसलाई विस्तार गर्दै लैजान सकिने विश्वास गर्नुभयो । उहाँले नेपाललाई विकासका सम्भावना प्रकृतिले नै उपलब्ध गराएको भन्दै त्यसको सदुपयोग गर्नुपर्नेमा जोड दिनुभयो ।  

प्रधानमन्त्री ओलीले आइटी सेक्टरमा लगानी गर्ने विदेशी लगानीकर्ताहरूलाई नेपालमा लगानी गर्न आग्रह गर्नुभयो । उहाँले नेपालमा पूर्वाधार, सडक पहुँच लगायतको राम्रो प्रवन्ध रहेको बताउँदै लगानीको लागि अनुकुल वातावरण बनेकोसमेत जिकिर गर्नुभयो ।