सगरमाथा संवाद हरेक नेपालीको गौरवशाली कार्यक्रम होः सचिव डा. मिश्र

433 Shares

काठमाडाैं । वन तथा वातावरण मन्त्रालयका सचिव डा. राजेन्द्रप्रसाद मिश्रले सगरमाथा संवादलाई हरेक नेपालीको गौरवशाली कार्यक्रमका रुपमा लिनुपर्ने बताउनुभएको छ ।

बुधबार काठमाडौंमा आयोजित ‘जलवायु परिवर्तन, सगरमाथा संवाद र मिडियाको भूमिका’ विषयमा आयोजित कार्यक्रममा उहाँले यस्तो बताउनुभएको हो । उहाँले सगरमाथा संवादलाई आगामी पुस्ताले गर्व गर्नसक्ने अवस्थामा स्थापित गराउनु पर्ने बताउनु भयो । उहाँले जलवायु परिवर्तनका विषयमा विश्वको सबैभन्दा उच्च स्थानबाट प्रवाह गरिने सन्देशका रुपमा सगरमाथा संवादलाई अगाडि बढाउनुपर्ने बताउनु भयो । 

उहाँले जलवायु परिवर्तनका बारेमा हिमालदेखि समुन्द्रसम्मको सन्देश विश्वलाई दिनसक्ने गरी सबै प्रकारका सञ्चारमाध्यमले विशेष भूमिका खेल्नुपर्नेमा जोड दिनुभयो । जलवायु परिवर्तनका असर र त्यसबाट बच्ने उपायसहितका लेख, तस्बिर, भिडियो लगायतका सामग्री प्रचारप्रसार गर्न आग्रह गर्नुभयो ।

प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले जलवायु परिवर्तनको मुद्दा नेपालले अन्तर्राष्ट्रियरुपमा उठाउने मुख्य मुद्दा भएको बताउनु भयो । काउन्सिलले सञ्चालन गरिरहेको अभिमुखिकरण कार्यक्रमहरुमा जलवायु परिवर्तनसम्बन्धी विषय थप गर्ने बताउनु भयो । पत्रकारले रचनात्मक पत्रकारितको माध्यमबाट सरकारलाई सुझाव दिनुपर्ने बताउँदै उहाँले प्रेस काउन्सिलले जलवायु परिवर्तन तथा विकास मुद्दाहरुका सामग्री समाचार कक्षमा उपलब्ध गराउने प्रयास गर्ने बताउनुभयाे ।

कान्तिपुर टेलिभिजनका सम्पादक विजय पौडेलले आगामी १५ दिनपछि हुन लागेको सगरमाथा संवादलाई सफल पार्न मिडियाले सबै विषय बिर्सिएर जलवायु परिवर्तनको विषयमा ध्यान दिनुपर्ने बताउनु भयो । उहाँले जलवायु परिवर्तनकै कारण आफ्नो थाकथलो छोडेर शरणार्थीको रुपमा विस्थापित हुने अवस्था आउनेतर्फ सचेत हुनुपर्ने बताउनु भयो । उहाँले सगरमाथा सम्बादलाई सफल पार्न सञ्चार माध्यमलाई विशेष अवसर भएकाले विभिन्न कोणबाट परिणाम दिनेगरी काम गर्नुपर्नेमा जोड दिनुभयो ।

पत्रकार एवं वातावरण अभियन्ता रमेश भुसालले जलवायु परिवर्तनले ल्याएको समस्यासँग सामना गरेर नेपालले फरक खालको विकास गर्न सक्ने बताउनु भयो । उहाँले पृथ्वीको इतिहासमा मान्छेले विगतमा विभिन्न दुःख पीडा अनुभव गर्दै आएको बताउनु भयो । समस्या पाएपछि मान्छेले समाधान पनि खोज्ने भएकाले विकासको मोडेलमा नेपालमा भएका स्रोतसाधनलाई प्रयोग गर्नुपर्ने बताउनु भयो । उहाँले जलवायु परिवर्तन समस्या मात्रै नभइ विकास गर्ने नयाँ अवसर पनि भएको भन्ने सन्देश नेपाली सञ्चारमाध्यमले दिनुपर्नेमा जोड दिनुभयो ।

अभियान्ता भुसालले जलवायु परिवर्तनको विषय वातावरणीय समस्या नभइ राजनीतिक र आर्थिक समस्या भएको अर्थमा नेपाली सञ्चार माध्यमहरुले बुझ्नुपर्नेमा जोड दिनुभयो । कार्यक्रममा वक्ताहरुले जलवायु परिवर्तनको मुद्दालाई नेपालले गहन रुपमा बुझ्नुपर्ने भएकाले सगरमाथा संवादमार्फत विश्वलाई विशेष सन्देश प्रवाह गर्नुपर्नेमा जोड दिएका छन् ।