जेनजी आन्दोलनका मुद्दा छानबिन र पीडितलाई क्षतिपूर्ति दिन अध्यादेश ल्याउँदै सरकार

9 Shares

काठमाडौं । सरकारले जेनजी आन्दोलनका क्रममा भएका घटनाको छानबिन, पीडितलाई क्षतिपूर्ति तथा परिपूरण उपलब्ध गराउन आयोग गठन गर्ने भएको छ ।

यसका लागि सरकारले आयोग गठनसम्बन्धी अध्यादेश जारी गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेको छ । मन्त्रिपरिषद्को बैठकले उक्त अध्यादेश राष्ट्रपतिसमक्ष पठाउने निर्णय गरेको हो ।

एक मन्त्रीका अनुसार आन्दोलनका क्रममा पीडित बनेका व्यक्ति तथा परिवारलाई न्याय, क्षतिपूर्ति र उचित परिपूरण उपलब्ध गराउने उद्देश्यले अध्यादेश ल्याउन लागिएको हो ।

अध्यादेशले आन्दोलनका क्रममा भएका घटनासँग सम्बन्धित मुद्दाको थप छानबिन गर्ने, पीडित र सम्बन्धित पक्षबीच मेलमिलापको वातावरण बनाउने तथा क्षति पुगेका व्यक्तिलाई क्षतिपूर्ति उपलब्ध गराउने व्यवस्था गरेको ती मन्त्रीले बताए ।

त्यस्तै, गम्भीर अपराधबाहेकका मुद्दालाई छिटो र व्यवस्थित रूपमा टुङ्ग्याउने कानुनी आधारसमेत अध्यादेशले तयार गर्नेछ ।

यसअघि राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरूले जेनजी आन्दोलनमा सहभागी भएकै कारण कतिपय व्यक्तिले मुद्दा खेपिरहेको भन्दै उनीहरूको रिहाइको माग गर्दै आएका थिए ।

सरकारले ल्याउन लागेको अध्यादेशले गम्भीर अपराधबाहेकका मुद्दाको शीघ्र निरुपण गर्ने व्यवस्था गरेको छ ।