पनौतीको सिद्धार्थ वनस्थलीद्वारा ६ जना शिक्षासेवी सम्मानित

591 Shares

पनौती । सिद्धार्थ वनस्थली इन्स्टिच्यूट पनौतीले विद्यालयका संस्थापक प्रिन्सिपल लक्ष्मण राजवंशीको स्मृति दिवसमा शिक्षा क्षेत्रमा उल्लेख्य योगदान गर्ने ६ जनालाई सम्मान गरेको छ । 

शिक्षा विकास तथा समन्वय इकाई काभ्रेका प्रमुख देवका ढकालको प्रमुख आतिथ्यतामा आयोजित एक कार्यक्रममा शिक्षा क्षेत्रमा उल्लेख्य योगदान पुर्याउने ६ जनालाई सम्मान गरिएको हो । कार्यक्रममा जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रमुख प्रहरी उपरिक्षक बसुन्धरा खड्काको विशेष आतिथ्यता रहेको थियो । 

सम्मानित हुनेहरुमा पूर्वप्रधानाध्यापक रामप्रसाद अधिकारी, नवरत्न अंग्रेजी मावि पनौतीका संस्थापक प्रधानाध्यापक सूर्य प्रकाश देउजा, पुण्य मावि पनौतीका पूर्वप्रधानाध्यापक प्रेमबहादुर प्रधान, मल्पी गाउँ पञ्चायतका प्रधानपञ्च भीमबहादुर थापा, वाघभैरव प्रावि पनौतीकी प्रधानाध्यापक सुमित्रा बजगाईं र पूर्वविद्यार्थी रुपेश केसी रहेका छन् । प्रमुख गुठीयार क्याप्टेन रामेश्वर थापाको सभापतित्व सम्पन्न कार्यक्रममा पनौती नगरपालिका वडा नम्बर ८ का वडा अध्यक्ष बेदप्रसाद बञ्जारा, वडा सदस्यहरु, प्याब्सनका केन्द्रीय उप–महासचिव भिमसेन केसी, सिद्धार्थ वनस्थली इन्स्टिच्यूटकी प्राचार्य रेश्मा थापा, सहप्राचार्य विमल कार्की लगायत विभिन्न क्षेत्रमा प्रमुख एवं प्रतिनिधिको सहभागिता रहेको थियो ।

सिद्धार्थ वनस्थली (1).jpg

सम्मानितमध्ये रामप्रसाद अधिकारीलाई नगद २५ हजार रुपैयाँसहित र अन्यलाई दोसल्ला र सम्मानपत्रद्धारा सम्मान गरिएको विद्यालयका सूचना अधिकारी प्रवीण दाहालले जानकारी दिनुभयो । कार्यक्रममा गुठीयार प्रमुख क्याप्टेन रामेश्वर थापाले सिद्धार्थ वनस्थली इन्ष्टिच्यूटले उत्पादन गरेका विद्यार्थी राष्ट्रिय र अन्तर्राष्ट्रियरुपमा अब्बल सावित भइ विभिन्न क्षेत्रमा योगदान गरिरहेको बताउनुभयो । प्रमुख अतिथि शिक्षा विकास तथा समन्वय इकाई काभ्रेका प्रमुख देवका ढकालले शिक्षा क्षेत्रमा योगदान गर्ने व्यक्तित्व सम्मानले उहाँहरुको योगदानको कदर हुने बताउनुभयो । 

कार्यक्रमका विशेष अतिथि जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रमुख प्रहरी उपरिक्षक बसुन्धरा खड्काले राष्ट्रको मानव स्रोतलाई मानव पूँजीको रुपमा विकास गर्न शिक्षाले योगदान गर्ने बताउनुभयो । यस विद्यालयले ३७ वर्षदेखि समय सापेक्ष गुणस्तरीय शिक्षा प्रदान गर्दै आइरहेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष केशव थापाले जानकारी दिनुभयो ।

इन्स्टिच्यूटको गुठीयार समितिले शैक्षिक विकासमा उल्लेख्य योगदान गर्ने शिक्षासेवी एवं सामाजिक अभियान्तालाई हरेक वर्ष नगदसहित लक्ष्मण राजवंशी स्मृति शिक्षा पुरस्कारबाट सम्मान गर्ने गरेको छ । संस्थापक राजवंशीको २०७८ साल वैशाख ११ गते निधन भएको थियो ।