स्वास्थ्य मन्त्रालय घेर्न गएका चिकित्सकलाई प्रहरीकाे रोकावट

272 Shares

काठमाडौँ ।  तोकेअनुसार न्यूनतम पारिश्रमिक नदिएर श्रम शोषण भएको भन्दै आन्दोलनरत चिकित्सकहरूले आज स्वास्थ्य मन्त्रालय घेराउको प्रयास गरेका छन् ।

आवासीय डाक्टरलाई सेवा सुविधा दिने निर्णय मन्त्रिपरिषदबाटै भए पनि कार्यान्वयन नभएको भन्दै उनीहरूले बिहीबार स्वास्थ्य मन्त्रालय घेराउको प्रयास गरेका हुन् । माइतीघरबाट प्रदर्शनसहित स्वास्थ्य मन्त्रालय जान खोजेका आन्दोलनरत चिकित्सकहरूलाई प्रहरीले रोकेको थियो । सो क्रममा केहीबेर प्रहरी र आन्दोलनरत चिकित्सकबीच धकेलाधकेलसमेत भएको थियो ।

उनीहरूले चिकित्सा आयोगद्वारा निर्धारित आठौँ तहको तलब संरचना कार्यान्वयन र शैक्षिक प्रगतिको संरक्षणका लागि पहल गर्न सरकारसँग माग गरेका छन् । नेपाल चिकित्सक संघका अध्यक्ष डा. अनिलविक्रम कार्कीले आफ्ना माग लिएर स्वास्थ्य मन्त्रालय जान खोज्दा प्रहरी खटाएर रोक्ने काम भएको बताए । आवासीय चिकित्सकलाई सरकारी आठौँ तह सरह सेवा दिने निर्णयमा स्वास्थ्य मन्त्रीले समेत हस्ताक्षर गरेकाले ध्यानाकर्षण गराउन खोजेको उनको भनाइ छ ।

चिकित्सक संघले आफ्ना मागहरू पुरा नभए बैशाख १२ गते देशभरिका आकस्मिक तथा सघन उपचार सेवा बाहेक सम्पूर्ण स्वास्थ्य सेवा ठप्प पार्ने चेतावनी दिएको छ ।