सुडानमा ड्रोन आक्रमणबाट १९ सर्वसाधारणको मृत्यु, २० भन्दा बढी घाइते

12 Shares

काठमाडौं । सुडानको दक्षिणपूर्वी ब्लु नाइल राज्यका दमाजिन र अल–रोसेरेस शहरमा भएका ड्रोन आक्रमणमा कम्तीमा १९ जना सर्वसाधारणको मृत्यु भएको छ भने २० भन्दा बढी घाइते भएका छन् ।

प्रत्यक्षदर्शी र स्वयंसेवी समूहकाअनुसार मंगलवार बिहानदेखि शुरु भएका आक्रमण साँझसम्म जारी रहेका थिए ।दमाजिनमा साँझको समयमा चारवटा ड्रोनले आवासीय क्षेत्रमा आक्रमण गर्दा धेरै हताहती भएको प्रत्यक्षदर्शीले बताएका छन् । स्वयंसेवी मानव अधिकार समूह ‘इमर्जेन्सी लयर्स’ले मंगलवार साँझ दमाजिनका विभिन्न बस्तीमा भएको आक्रमणमा १९ जनाको मृत्यु र १५ जना घाइते भएको जनाएको छ ।

मृत्यु हुनेमा तीन परिवारका सदस्य तथा छ महिला रहेको समूहले उल्लेख गरेको छ । त्यस्तै, अल–रोसेरेसमा रहेका बाँध, विद्युत् उत्पादन केन्द्र तथा विद्युतीय संरचनालाई पनि ड्रोनले निशाना बनाएको समूहले जनाएको छ । समूहले आक्रमणका लागि अर्धसैनिक बल र्यापिड सपोर्ट फोर्सेस (आरएसएफ)लाई जिम्मेवार ठहर गरेको छ ।

आवासीय क्षेत्र र अत्यावश्यक पूर्वाधारमा आक्रमण हुँदा सर्वसाधारणको जीवन जोखिममा पर्ने र आधारभूत सेवामा अवरोध पुग्ने भन्दै उसले चिन्ता व्यक्त गरेको छ । यसैबीच, स्वयंसेवी संस्था ‘सुडान डक्टर्स नेटवर्क’ले पनि आक्रमणमा आरएसएफ संलग्न रहेको आरोप लगाएको छ ।

उक्त संस्थाकाअनुसार आक्रमणमा १७ जना सर्वसाधारणको मृत्यु भएको र १४ भन्दा बढी घाइते भएका छन् । संस्थाले पीडितहरू आफ्नै घरभित्र र आसपासका क्षेत्रमा आक्रमणमा परेको जनाएको छ ।

लक्षित क्षेत्र आवासीय बस्ती रहेको पुष्टि भएको उल्लेख गर्दै उसले संयुक्त राष्ट्रसंघ, राष्ट्रसंघीय मानव अधिकार परिषद् र सम्बन्धित अन्तर्राष्ट्रिय निकायलाई स्वतन्त्र अनुसन्धान गर्न, घटनाको अभिलेखीकरण गर्न तथा दोषीलाई जवाफदेही बनाउन आग्रह गरेको छ ।

सुडानमा सन् २०२३ अप्रिलदेखि सरकारी सेना र अर्धसैनिक बल आरएसएफबीच सशस्त्र द्वन्द्व जारी छ । उक्त द्वन्द्वका कारण दशौँ हजार मानिसको मृत्यु भइसकेको छ भने लाखौँ विस्थापित भएका छन् । विस्थापितमध्ये केही देशभित्रै र केही देशबाहिर शरण लिन बाध्य भएका छन् ।