काठमाडौं । छोराको अध्ययनका सिलसिलामा दुई साताअघि भारतको उडिसास्थित भुवनेश्वर पुगेका पूर्व मुख्यसचिव एकनारायण अर्याल हिजो दिउँसोदेखि परिवारको सम्पर्कबाहिर रहेका छन्।
नेपाली कामदारलाई मलेसिया पठाउँदा गरिने स्वास्थ्य परीक्षण तथा बायोमेट्रिक सेवाबापत वैदेशिक मुद्रा सटही सुविधा उपलब्ध गराउन नेपाल राष्ट्र बैंकलाई पत्र लेखिएको प्रकरणमा अर्यालविरुद्ध पनि पक्राउ पुर्जी जारी भएको थियो।
उक्त प्रकरणमा संगठित अपराध र ठगीको कसुर जोड्दै सीआईबीले केही पूर्व श्रममन्त्री, कर्मचारी तथा स्वास्थ्य संस्थाका अध्यक्ष कैलाश खड्कासहितका व्यक्तिलाई हिरासतमा राखेर अनुसन्धान गरिरहेको छ।
स्वदेश फर्कने क्रममा भारतको कलकत्ता आइपुगेका अर्याल सोही प्रकरणमा पक्राउ परेको हुनसक्ने आशंका गरिएको छ। यद्यपि, यस विषयमा नेपाल र भारत दुवै देशका आधिकारिक निकायबाट कुनै पुष्टि भएको छैन।
अर्याल २०८१ भदौमा मुख्यसचिव नियुक्त भएका थिए । त्यसअघि उनले गृहसचिवको जिम्मेवारी सम्हालेका थिए । मुख्यसचिवका रूपमा करिब १५ महिना काम गरेपछि २०८२ मंसिरमा उमेर हदका कारण अनिवार्य अवकाश पाएका थिए ।
परिवारसँग सम्पर्कविहीन भएपछि अर्यालको अवस्थाबारे आफन्तमा चिन्ता र तनाव बढेको स्रोतले जनाएको छ।
फेसबुकबाट तपाईको प्रतिक्रिया