भारत तस्करी हुँदै गरेका १५ वटा राँगा/भैँसी नियन्त्रणमा

16 Shares

भारततर्फ तस्करी गर्न लागिएका १५ राँगा–भैँसी कञ्चनपुरमा नियन्त्रणमा

कञ्चनपुर । कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका–२ बाट अवैध रूपमा भारततर्फ लैजान लागिएका १५ वटा राँगा तथा भैँसी प्रहरीले नियन्त्रणमा लिएको छ ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुर र इलाका प्रहरी कार्यालय दोधारा चाँदनीबाट बुधबार खटिएको प्रहरी टोलीले भारततर्फ लैजान लागिएका राँगा–भैँसी बेवारिसे अवस्थामा फेला पारेको थियो । प्रहरीले ती पशु नियन्त्रणमा लिएर आवश्यक कानुनी कारबाहीका लागि कञ्चनपुर भन्सार कार्यालय गड्डाचौकीमा बुझाएको जनाएको छ ।

प्रहरीका अनुसार अवैध रूपमा भारततर्फ तस्करी हुँदै गरेको अवस्थामा ती पशु फेला परेका हुन् । नियन्त्रणमा लिइएका १५ वटा राँगा तथा भैँसीको मूल्य करिब एक लाख ५५ हजार रुपैयाँ बराबर रहेको बताइएको छ ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक टेकबहादुर रावतले अवैध तस्करी भइरहेको अवस्थामा पशु नियन्त्रणमा लिएर कानुनबमोजिम कारबाहीका लागि भन्सार कार्यालयमा बुझाइएको जानकारी दिए ।

“अवैध तस्करी हुँदै गरेको अवस्थामा राँगा–भैँसी नियन्त्रणमा लिएर कानुनबमोजिम कारबाहीका लागि भन्सार बुझाएका छौँ,” प्रवक्ता रावतले भने, “एक लाख ५५ हजार रुपैयाँ मूल्य बराबरका बेवारिसे राँगा–भैँसी नियन्त्रणमा लिइएको हो ।”

नियन्त्रणमा लिइएका पशु भन्सार कार्यालयमा बुझाइएसँगै अब सम्बन्धित निकायबाट प्रचलित कानुनअनुसार आवश्यक प्रक्रिया अघि बढाइने प्रहरीले जनाएको छ ।

खुला सीमाको फाइदा उठाउँदै अवैध रूपमा पशु तथा अन्य वस्तु ओसारपसार गर्ने गतिविधि नियन्त्रण गर्न प्रहरीले निगरानी र कारबाहीलाई निरन्तरता दिँदै आएको छ । दोधारा चाँदनीबाट १५ वटा राँगा–भैँसी नियन्त्रणमा लिनुलाई पनि अवैध ओसारपसार नियन्त्रणका लागि गरिएको प्रहरी कारबाहीका रूपमा हेरिएको छ ।