जनकपुरधाम । प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको रक्षा र नेपाल पत्रकार महासंघले अघि सारेका माग तत्काल सम्बोधन गर्न दबाब दिँदै नेपाल पत्रकार महासंघ धनुषा शाखाले विरोध प्रदर्शन गरेको छ ।
नेपाल पत्रकार महासंघको केन्द्रीय कार्यसमितिले जारी गरेको सर्कुलरअनुसार सञ्चालित देशव्यापी आन्दोलनअन्तर्गत बुधबार जनकपुरधाममा पत्रकारहरूले सामूहिक गिरफ्तारीको मागसहित प्रदर्शन गरेका हुन् । महासंघको आन्दोलनलाई थप दबाबमूलक बनाउने उद्देश्यले गरिएको प्रदर्शनमा धनुषाका पत्रकारहरू सहभागी भएका थिए ।
प्रदर्शनमा सहभागी पत्रकारहरूले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको रक्षा गर्न र महासंघका माग तत्काल पूरा गर्न सरकारसँग माग गरेका थिए । उनीहरूले ‘प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको रक्षा गर’, ‘नेपाल पत्रकार महासंघका मागहरू तत्काल पूरा गर’ लगायतका नारा लेखिएका ब्यानर बोकेर विरोध जनाएका थिए ।
पत्रकारहरूले सञ्चारमाध्यम र पत्रकारमाथि भइरहेका भनिएका हस्तक्षेप, धरपकड तथा गिरफ्तारीका गतिविधि तत्काल रोक्नुपर्नेमा जोड दिएका छन् । उनीहरूले स्वतन्त्र रूपमा समाचार संकलन, प्रकाशन तथा प्रसारण गर्ने वातावरण सुनिश्चित गर्नसमेत सरकारको ध्यानाकर्षण गराएका छन् ।
नेपाल पत्रकार महासंघ धनुषा शाखाका अध्यक्ष पूरन साहले पत्रकार तथा सञ्चारमाध्यममाथि भइरहेका हस्तक्षेप र धरपकडविरुद्ध आन्दोलनको अन्तिम चरणका रूपमा सामूहिक गिरफ्तारीको कार्यक्रम आयोजना गरिएको बताए ।
उनका अनुसार पछिल्लो समय सञ्चारमाध्यमका कार्यालयअगाडि अप्रत्याशित रूपमा गाडी तेस्र्याउने, सञ्चारगृहभित्र प्रवेश गरेर धरपकड गर्ने तथा पत्रकारलाई गिरफ्तार गर्नेजस्ता गतिविधि भइरहेको छ । यस्ता गतिविधिले पत्रकारिता क्षेत्रको स्वतन्त्रता र सञ्चारमाध्यमको काम गर्ने वातावरणमा असर पारेको उनको भनाइ छ ।
अध्यक्ष साहले सरकारले सञ्चारगृहमाथि आर्थिक नाकाबन्दी लगाएको आरोपसमेत लगाए । सञ्चारमाध्यमलाई दबाबमा राख्ने र पत्रकारको स्वतन्त्र कामकारबाहीमा अवरोध पुर्याउने गतिविधिविरुद्ध महासंघले महिनौँदेखि आन्दोलन गर्दै आएको उनले बताए ।
उनले पत्रकारिताको स्वतन्त्रता कुनै व्यक्ति वा संस्थाको मात्र विषय नभई नागरिकको सूचनाको हक र लोकतान्त्रिक व्यवस्थासँग समेत जोडिएको बताए । त्यसैले सञ्चारमाध्यममाथि हुने हस्तक्षेप रोक्न र पत्रकारलाई निर्भयपूर्वक काम गर्ने वातावरण बनाउन सम्बन्धित निकाय जिम्मेवार हुनुपर्ने महासंघको माग रहेको छ ।
अध्यक्ष साहले बुधबारको प्रदर्शनपछि पनि सरकार तथा सम्बन्धित निकायले महासंघका माग सम्बोधन गर्न चासो नदेखाए थप कठोर आन्दोलनका कार्यक्रम घोषणा गर्ने चेतावनी दिए ।
‘हामीलाई गिरफ्तार गर, नभए हाम्रा माग पूरा गर’ भन्ने स्पष्ट सन्देश सरकारसम्म पुर्याउन सामूहिक गिरफ्तारीको कार्यक्रम गरिएको उनले बताए । उनका अनुसार महासंघले आन्दोलनमार्फत पत्रकार र सञ्चारमाध्यमको अधिकार संरक्षण तथा प्रेस स्वतन्त्रताको सुनिश्चितताका लागि दबाब सिर्जना गर्न खोजेको हो ।
महासंघ धनुषाको प्रदर्शन देशव्यापी आन्दोलनकै एक हिस्सा हो । पत्रकार महासंघले उठाएका माग सम्बोधन नभए आन्दोलनलाई थप सशक्त बनाउने संकेत दिएको छ । प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको संरक्षण, सञ्चारमाध्यममाथिको हस्तक्षेपको अन्त्य र पत्रकारले स्वतन्त्र रूपमा काम गर्न पाउने वातावरण निर्माण गर्नुपर्ने मागसहित पत्रकारहरू आन्दोलनमा उत्रिएका हुन् ।
फेसबुकबाट तपाईको प्रतिक्रिया