एजेन्सी । यमनमा साउदी नेतृत्वको गठबन्धनले गरेको हवाई आक्रमण र हुथी विद्रोहीको ड्रोन आक्रमणमा परी कम्तीमा पाँच जनाको मृत्यु भएको छ भने १८ जना घाइते भएका छन् । आईतवार यमनका विभिन्न क्षेत्रमा भएका आक्रमणमा सर्वसाधारण प्रभावित भएको हुथी सञ्चालित सञ्चारमाध्यम र एक सुरक्षा अधिकारीले जनाएका छन् ।
हुथी विद्रोहीको नियन्त्रणमा रहेको राजधानी सानामा रहेको एक तेल कम्पनीको संरचनालाई लक्षित गरी गरिएको हवाई आक्रमणमा छ जना घाइते भएका छन् । आक्रमणबाट भौतिक संरचनामा समेत क्षति पुगेको अल–मसिराह टेलिभिजनले जनाएको छ ।
स्थानीय बासिन्दाका अनुसार राजधानीका विभिन्न क्षेत्रमा लडाकु विमानले आक्रमण गरेपछि शक्तिशाली विस्फोटका आवाज सुनिएका थिए । त्यस्तै, यमनको दक्षिणपश्चिमी ताइज प्रान्तस्थित साबिर अल–मवादिम र जबल हबासी जिल्लाका आवासीय क्षेत्रमा भएको हवाई आक्रमणमा दुई जनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन् ।
दक्षिणी बन्दरगाह सहर अदनको अल–बुराइकाह जिल्लास्थित आवासीय क्षेत्रमा हुथी विद्रोहीले गरेको ड्रोन आक्रमणमा तीन जनाको मृत्यु भएको र सात जना घाइते भएको एक सुरक्षा अधिकारीले सिन्ह्वालाई बताएका छन् ।
यसैबीच, साउदी नेतृत्वको गठबन्धनले साउदी अरेबियाको रियाद क्षेत्रतर्फ प्रहार गरिएको हुथी विद्रोहीको ड्रोन आफ्नो हवाई प्रतिरक्षा प्रणालीमार्फत बीचमै अवरोध गरी नष्ट गरेको जनाएको छ । तर उक्त ड्रोनको लक्षित स्थान र आक्रमणबाट भएको सम्भावित क्षतिबारे थप विवरण सार्वजनिक गरिएको छैन ।
पछिल्ला दिनमा हुथी विद्रोही र साउदी नेतृत्वको गठबन्धनको समर्थन प्राप्त यमनी सरकारी सेनाबीचको द्वन्द्व थप चर्किएको छ । हुथी समूहले साउदी अरेबियाका विमानस्थल तथा तेल पूर्वाधारलाई लक्षित गरी क्षेप्यास्त्र र ड्रोन आक्रमण गरेको दाबी गर्दै आएको छ ।
यता हुथी सञ्चारमाध्यमले यमनका विभिन्न क्षेत्रमा साउदी हवाई आक्रमण बढेको जनाएका छन् । यमनमा सन् २०१४ को अन्त्यदेखि द्वन्द्व जारी छ । हुथी विद्रोहीले राजधानी सानासहित उत्तरी यमनका अधिकांश भूभाग नियन्त्रणमा लिएपछि सन् २०१५ मा अन्तर्राष्ट्रिय मान्यता प्राप्त सरकारको समर्थनमा साउदी नेतृत्वको गठबन्धनले सैन्य हस्तक्षेप गरेको थियो । त्यसयता देशमा हिंसा र अस्थिरता कायम रहँदै आएको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया