भारतको राजस्थानमा सडक दुर्घटना: १२ जनाको मृत्यु, २३ घाइते

7 Shares

एजेन्सी । भारतको पश्चिमी राज्य राजस्थानमा भएका दुई छुट्टाछुट्टै सडक दुर्घटनामा परी कम्तीमा १२ जनाको मृत्यु भएको छ भने २३ जना घाइते भएका छन् ।

प्रहरीकाअनुसार राजस्थानको कोटा जिल्लास्थित शम्भुपुरा गाउँनजिक तीव्र गतिमा रहेको यात्रुवाहक गाडी सडक किनारमा रोकिराखेको ट्रकमा ठोक्किँदा एकै परिवारका नौ जनाको मृत्यु भएको हो । दुर्घटनामा अन्य आठ जना घाइते भएका छन् ।

राजस्थानको राजधानी जयपुरबाट करिव २५० किलोमिटर दक्षिणमा भएको उक्त दुर्घटनामा गाडी नराम्ररी क्षतिग्रस्त हुँदा केही यात्रु भित्रै फसेका थिए । स्थानीय बासिन्दा र प्रहरीको सहयोगमा घाइतेहरूको उद्धार गरिएको अधिकारीहरूले बताएका छन् ।

यसैगरी, शनिवार साँझ जोधपुर जिल्लामा कार र यात्रुवाहक टेम्पो एकआपसमा ठोक्किँदा तीन जनाको मृत्यु भएको छ भने अन्य १५ जना घाइते भएका छन् । भारतमा सडक दुर्घटनाबाट ठूलो संख्यामा मानवीय क्षति हुने गरेको छ ।

सवारीसाधनमा क्षमताभन्दा बढी यात्रु राख्नु, सडकको खराब अवस्था र लापरबाहीपूर्ण सवारी सञ्चालनलाई यस्ता दुर्घटनाका प्रमुख कारण मानिन्छ ।