नमोबुद्ध जात्रामा भक्तजनको घुइँचो

7 Shares

बनेपा । काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका–११ स्थित प्रसिद्ध धार्मिक तथा पर्यटकीयस्थल नमोबुद्धमा परम्परागत जात्राको मुख्य दिन आज मेला तथा विशेष पूजाआजा भइरहेको छ। कात्तिक पूर्णिमाका अवसरमा आयोजित जात्रामा बिहानैदेखि भक्तजनको उल्लेख्य घुइँचो लागेको छ।

नमोबुद्धमा प्रत्येक वर्ष कात्तिक पूर्णिमाका अवसरमा विशेष धार्मिक मेला तथा जात्रा आयोजना हुँदै आएको छ। यस अवसरमा विभिन्न स्थानबाट आएका श्रद्धालु भक्तजनले नमोबुद्धको दर्शन तथा पूजाआजा गर्ने गरेका छन्। जात्राको मुख्य दिन पूर्णिमाका अवसरमा धार्मिक विधिअनुसार पूजाआजा भइरहेको छ।

नमोबुद्ध गुठीका अध्यक्ष लोप्साङ बज्र लामाका अनुसार जात्राको पहिलो दिन सोमबार दिवङ्गत पितृहरूको सम्झनामा रातभर दीप प्रज्ज्वलन गरिएको थियो। परम्पराअनुसार पितृहरूको स्मरण र श्रद्धा व्यक्त गर्दै दीप बाल्ने चलन रहेको छ।

नमोबुद्ध जात्राको धार्मिक तथा ऐतिहासिक महत्व राजकुमार महासत्त्वको त्याग र करुणासँग जोडिएको छ। नगरप्रमुख कुन्साङ लामाका अनुसार भोकले छटपटाइरहेकी बघिनी र उनका पाँच डमरुको प्राण बचाउन राजकुमार महासत्त्वले आफ्नो शरीर अर्पण गरेको घटनाको स्मरणमा यो जात्रा मनाउने गरिएको हो।

उक्त घटनालाई मानवता, त्याग र करुणाको प्रतीकका रूपमा लिने गरिन्छ। आफ्नो जीवनसमेत अरूको प्राण रक्षाका लागि समर्पण गरेको महासत्त्वको कथाले नमोबुद्ध क्षेत्रलाई बौद्ध धर्मावलम्बीका लागि महत्वपूर्ण तीर्थस्थलका रूपमा स्थापित गरेको छ।

कात्तिक पूर्णिमाको धार्मिक मेलालाई लक्षित गर्दै नमोबुद्ध नगरपालिकाले आज स्थानीय बिदासमेत दिएको नगरप्रमुख लामाले जानकारी दिए। जात्रामा सहभागी हुने भक्तजनलाई सहज रूपमा दर्शन तथा पूजाआजा गर्ने वातावरण मिलाउन नगरपालिकाले स्थानीय गुठी र सुरक्षा निकायसँग समन्वय गरी आवश्यक व्यवस्थापन गरेको छ।

नमोबुद्धको जात्रा धार्मिक आस्था, ऐतिहासिक परम्परा र सांस्कृतिक पहिचानसँग जोडिएको पर्व हो। यसले स्थानीय धार्मिक परम्पराको निरन्तरतासँगै नमोबुद्ध क्षेत्रको धार्मिक तथा पर्यटकीय महत्वलाई समेत उजागर गर्दै आएको छ।