समग्र सम्झौताबिना नै सकियो कोप ३१ः ४८ घण्टाभन्दा बढी छलफलमा पनि सदस्य राष्ट्रबीच सहमति जुटेन

7 Shares

एजेन्सी । संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी ३१ औँ सम्मेलन (कोप–३१) समग्र सम्झौताबिना नै सम्पन्न भएको छ । करिव ४८ घण्टाभन्दा बढी समय अतिरिक्त छलफल गर्दा पनि सदस्य राष्ट्रहरूबीच साझा सहमति जुट्न नसकेपछि सम्मेलन आइतबार टुङ्गिएको हो ।

सम्मेलनको समापन सत्रमा अध्यक्ष मुरात कुरुमले प्रश्तावित दस्तावेजमा केही राष्ट्रले असहमति जनाएकाले त्यसलाई पारित गर्न नसकिएको बताए । उनले सबै पक्षले आफूले चाहेका सबै कुरा प्राप्त नगरे पनि प्रश्तावित दस्तावेजमा सबैले आफ्ना विषय समेटिएको पाउन सक्ने धारणा राखे ।

टर्कीका वातावरण, सहरीकरण तथा जलवायुसम्बन्धी मन्त्रीसमेत रहेका कुरुमले सम्मेलनको अध्यक्ष राष्ट्रका रूपमा टर्कीको जिम्मेवारी सम्मेलनपछि पनि जारी रहने बताए । स्वच्छ ऊर्जा, शुन्य फोहोर र जलवायु वित्तीय सहयोगसम्बन्धी सम्मेलनको कार्ययोजनालाई निरन्तरता दिने उनको भनाइ थियो ।

संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी कार्यकारी सचिव साइमन स्टिलले समग्र सम्झौता हुन नसकेकोमा गहिरो निराशा व्यक्त गरे । यद्यपि, न्यायोचित ऊर्जा तथा जलवायु रूपान्तरणलगायतका विषयमा महत्त्वपूर्ण वार्तागत निर्णय भएको उनले बताए ।

स्टिलकाअनुसार विभिन्न देशका प्रतिवद्धता र राष्ट्रप्रमुखहरूको सम्मेलनमार्फत विश्व अर्थतन्त्रको करिब आधा हिस्सा विद्युतीकरणलाई तिब्रता दिन अघि बढेको देखिएको छ । सम्मेलनको कार्ययोजनाअन्तर्गत केही ठोस प्रगति भए पनि जलवायु संकट सम्बोधनका लागि अझ धेरै काम गर्न आवश्यक रहेको उनले उल्लेख गरे ।

संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले पनि सम्मेलनको नतिजाप्रति निराशा व्यक्त गरेका छन् । जलवायु संकटले सरकारहरूबीच सहमति पर्खेर नबस्ने भन्दै उनले यसको सामना गर्न विश्वले तत्काल थप प्रभावकारी कदम चाल्नुपर्ने बताए ।

शुक्रवार सम्पन्न हुने पूर्वनिर्धारित कार्यक्रम रहेको सम्मेलन अतिरिक्त वार्ताका कारण लम्बिएको थियो । टर्कीको पर्यटकीय शहर अन्ताल्यामा नोभेम्बर ९ देखि शुरु भएको सम्मेलनको मुख्य उद्देश्य विश्वव्यापी जलवायु प्रतिवद्धतालाई व्यवहारिक कार्यान्वयनमा रूपान्तरण गर्नु रहेको थियो ।