भोटेकोशी बाढी : दुई हजार ७१५ जनाको उद्धार

13 Shares

काठमाडौँ । रसुवास्थित भोटेकोशी नदीमा भदौ १० गते बुधबार बिहान आएको अचानकको बाढीमा परेर सम्पर्कविहीन भएकामध्ये हालसम्म रसुवा, नुवाकोट, धादिङलगायत क्षेत्रबाट दुई हजार ७१५ जनाको उद्धार गरिएको छ ।

नेपाल प्रहरीका प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक अविनारायण काफ्लेका अनुसार बाढीमा परी घाइते भएकामध्ये विभिन्न स्थानबाट उद्धार गरिएका केहीलाई उपचारका लागि काठमाडौँ ल्याइएको छ । काठमाडौँका विभिन्न अस्पतालमा उपचाररत र उपचारपछि ‘डिस्चार्ज’ भएका गरी हालसम्म १६० जना रहेका उहाँले जानकारी दिनुभयो ।

बाढीपछि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल, नेपालका केही कर्मचारीसमेत सम्पर्कविहीन भएका छन् । सम्पर्कविहीन भएकामध्ये नेपाली सेनाका ४४, नेपाल प्रहरीका २७ र सशस्त्र प्रहरी बल, नेपालका १३ जना कर्मचारी रहेका प्रहरी नायब महानिरीक्षक अविनारायण काफ्लेले बताउनुभयो ।

बाढी प्रभावित क्षेत्रमा सम्पर्कविहीन भएकाको खोजी तथा उद्धार कार्यलाई तीव्र पारिएको प्रहरीले जनाएको छ । नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाललगायत सम्बन्धित निकायका सुरक्षाकर्मी तथा उद्धार टोलीले सम्भावित जोखिमयुक्त क्षेत्रमा खोजी तथा उद्धार कार्य जारी राखेका छन् ।

बाढीका कारण प्रभावित क्षेत्रमा भएको मानवीय तथा भौतिक क्षतिको विवरण सङ्कलनसँगै सम्पर्कविहीनको खोजी र उद्धारलाई प्राथमिकतामा राखिएको प्रहरीले जनाएको छ । यसैबीच, विभिन्न जिल्लाबाट आज दिउँसो २ः०० बजेसम्म ७६८ जनाको शव फेला परेको नेपाल प्रहरीले जनाएको छ ।

प्रहरी प्रधान कार्यालय नक्सालका अनुसार रसुवामा १३, धादिङमा ५०, तनहुँमा ३७, नुवाकोटमा ५२, गोरखामा ५८, चितवनमा २६४, नवलपरासी पूर्वमा १९४ र नवलपरासी पश्चिममा १०० जनाको शव फेला परेको हो ।