इलामका दुई पालिकाले रसुवाको भोटेकोशी नदीमा आएको बाढी प्रभावितलाई नागरिकको उद्धार,उपचार तथा राहतका लागि रु ३५ लाख सहयोग गर्ने घोषणा गरेका छन् । जिल्लाको चुलाचुली गाउँपालिकाले रु २५ लाख र माई नगरपालिकाले रु १० लाख प्रधानमन्त्री दैवीप्रकोप उद्घार कोषमा जम्मा गर्ने निर्णय गरेका छन् । बिहीबार बसेको चुलाचुली गाउँपालिकाको ७६औँ बैठकले सो निर्णय गरेको हो ।
गाउँपालिका अध्यक्ष र उपाध्यक्षद्वारा सात दिनको र वडाध्यक्ष तथा सदस्यद्वारा पाँच दिनको सेवासुविधा प्रधानमन्त्री दैवीप्रकोप उद्घार कोषमा जम्मा गर्ने निर्णय गरिएको गाउँपालिका अध्यक्ष राजेन्द्र केरुङले बताए । अध्यक्ष केरुङका अनुसार गाउँपालिकाका विभिन्न तहका कर्मचारीको पारिश्रमिक उपलब्ध गराउने निर्णय भएको छ । भोटेकोशी बाढीबाट प्रभावित नागरिकको उद्धार, उपचार तथा राहतमा टेवा पुग्ने विश्वाससहित आवश्यक सहयोग उपलब्ध गराउने निर्णय गरेको अध्यक्ष केरुङले बताए ।
जनप्रतिनिधि तथा शिक्षक कर्मचारीको तर्फबाट रु २५ लाख सङ्कलन गरी जम्मा गर्ने उहाले जानकारी दिएको हो । यता बिहीबार नै बसेको माई नगरपालिकाको ६५औँ कार्यपालिका बैठकले सबै जनप्रतिनिधि तर्फबाट १५ दिनको सेवासुविधा र कर्मचारीको तर्फबाट दुई दिनको पारिश्रमिक प्रधानमन्त्री दैवीप्रकोप उद्घार कोषमा जम्मा गर्ने निर्णय गरेको नगरप्रमुख खम्बासिंह लिम्बूले जानकारी दिए । जनप्रतिनिधि र कर्मचारीबाट सङ्कलित रकममा नगरपालिकाको विपद् व्यवस्थापन कोषबाट रकम थप गरी रु १० लाख पुर्याइने उहाको भनाई रहेको छ । इलाममा चार नगरपालिकासहित १० स्थानीय तह रहेका छन् ।
फेसबुकबाट तपाईको प्रतिक्रिया