उद्धार र राहतमा राज्यको सम्पूर्ण शक्ति परिचालन गरिएको छः प्रधानमन्त्री शाह

10 Shares

काठमाडौं । प्रधानमन्त्री बालेन शाहले रसुवाको भोटेकोशीमा आएको भीषण बाढीबाट प्रभावित नागरिकलाई बचाउन सरकार लागिपरेको बताएका छन् । बुधबार साँझ सामाजिक सञ्जाल फेसबुकमा एक स्ट्याटस लेख्दै उनले बाढीका कारण पुगेको ठुलो मानवीय र भौतिक क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै उद्धार र राहतमा राज्यको सम्पूर्ण शक्ति परिचालन गरिएको बताएका हुन् ।

बाढीमा परी हालसम्म ५० भन्दा बढी नागरिकले ज्यान गुमाएको पुष्टि गर्दै उनले नेपाली सेनाको हेलिकप्टरमार्फत हालसम्म २५० भन्दा बढीको उद्धार गरिएको र घाइतेहरूको वीर तथा ट्रमा सेन्टरमा निःशुल्क उपचारको व्यवस्था मिलाइएको जानकारी दिए ।

उनले भनेका छन्, ‘बाढीका कारण हालसम्म ५० भन्दा बढी हाम्रा प्रिय नागरिकहरूले ज्यान गुमाइसकेको दुःखद खबर प्राप्त भएको छ। म नेपाल सरकार र व्यक्तिगत तर्फबाट ज्यान गुमाउनुहुने ती सम्पूर्ण मृतकहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु । आफ्नो मान्छे, आफ्नो परिवार र सर्वस्व गुमाएर शोकमा डुब्नुभएका ती दाजुभाइ तथा दिदीबहिनीहरूमा गहिरो समवेदना व्यक्त गर्दछु ।’

अगाडि उनले भनेका छन्, ‘हाम्रा सुरक्षाकर्मीहरूले नेपाली सेनाको हेलिकप्टरमार्फत हालसम्म २५०ं नागरिकको उद्धार गरिसकेका छन् । उद्धार गरिएकामध्ये घाइतेहरूलाई तत्काल काठमाडौँ ल्याएर उपचार सुरु गरिएको छ । अहिलेको यो समय निकै संवेदनशील छ । घाइतेहरूको ज्यान जोगाउनु, बेपत्ता भएकाहरूको खोजी गरिनु र प्रभावित मानिसहरूलाई सुरक्षा दिनु नै हाम्रो पहिलो प्राथमिकता हो । घाइते नागरिकहरूको सहज र निःशुल्क उपचारका लागि काठमाडौँको वीर अस्पताल र राष्ट्रिय ट्रमा सेन्टरमा १०० वटा शय्या छुट्याइएको छ ।’

प्रधानमन्त्री शाहले घाइतेहरूको थप विवरण संकलन गर्ने काम अझै निरन्तर जारी रहेको जानकारी गराएका छन् । साथै उनले बाढीमा हराइरहेका नागरिकहरूको खोजतलासलाई अझ तीव्र पारिने बताउँदै आज रातभर पनि उद्धार कार्य जारी नै रहने जानकारी दिए ।

उनले बाढीका कारण भत्किएका सडक, पुल, बिजुली र खानेपानीका आयोजनाहरूलाई प्राथमिकताका साथ पुनर्निर्माण गरी जनजीवनलाई पुनः पुरानै अवस्थामा फर्काइने बताउँदै विस्थापित भएका परिवारहरूलाई सुरक्षित स्थानमा पुनःस्थापना गरिने आश्वासन दिएका छन् ।