काठमाडौं । रसुवाको भोटेकोशी नदीमा बुधबार बिहान आएको अचानक बाढीपछि ४७७ जना सम्पर्कविहीन भएका छन् । सम्पर्कविहीन हुनेमा ७९ जना सुरक्षाकर्मी, १४ जना भन्सार कर्मचारी तथा ३८४ जना स्वदेशी तथा विदेशी पर्यटक रहेका छन् ।
प्रतिनिधिसभाको बैठकमा परराष्ट्रमन्त्री शिशिर खनालले दिएको जानकारीअनुसार नेपाल प्रहरीका २६ जना, सशस्त्र प्रहरीका ९ जना र नेपाली सेनाका ४४ जना सम्पर्कविहीन छन् । नेपाल प्रहरीतर्फ टिमुरे, स्याफ्रुबेसी, सिम्ले र मैलुङ क्षेत्रमा कार्यरत प्रहरी सम्पर्कविहीन भएको जनाइएको छ ।
त्यस्तै, रसुवागढी भन्सार कार्यालयका १४ जना कर्मचारी अझै सम्पर्कमा आएका छैनन् । कार्यालयका ३६ स्थायी कर्मचारीमध्ये प्रमुख भन्सार प्रशासक राजेन्द्र ढुंगानासहित २५ जना सम्पर्कमा आएका छन् भने बाँकी कर्मचारीको खोजी भइरहेको अर्थ मन्त्रालयले जनाएको छ ।
बाढीका कारण पर्यटकतर्फको अवस्था पनि गम्भीर देखिएको छ । नेपाल पर्यटन बोर्डका अनुसार सम्पर्कविहीन ३८४ यात्रुमध्ये २९१ जना विदेशी र ९३ जना नेपाली छन् । विदेशीमध्ये १०५ जनाभन्दा बढी भारतीय नागरिक रहेको प्रारम्भिक विवरण छ । उक्त विवरण ट्राभल एजेन्सी, स्थानीय प्रशासन तथा सुरक्षा निकायसँगको समन्वयमा संकलन गरिएको हो ।
बाढीबाट रसुवाको टिमुरे, स्याफ्रुबेसी, हाकुबेंसी, मैलुङलगायत क्षेत्रमा ठूलो क्षति पुगेको छ । बस्ती, सडक, पुल तथा जलविद्युत् आयोजनामा समेत व्यापक क्षति भएको प्रारम्भिक विवरण छ । बाढीको प्रभाव नुवाकोट र धादिङसम्म पुगेको छ ।
खोज तथा उद्धारका क्रममा नुवाकोट र धादिङबाट कम्तीमा आठ शव फेला परेको प्रहरीले जनाएको छ भने नेपाली सेनाले प्रभावित क्षेत्रबाट कम्तीमा २५ जनाको उद्धार गरेको जनाएको छ । उद्धारका लागि नेपाली सेनाका ६ र निजी क्षेत्रका ८ गरी १४ हेलिकप्टर परिचालन गरिएको छ ।
बाढीपछि सञ्चार सम्पर्क अवरुद्ध भएका कारण क्षतिको पूर्ण विवरण अझै आउन सकेको छैन । सुरक्षाकर्मी, पर्यटक तथा स्थानीय बासिन्दाको खोजीलाई तीव्र बनाइएको छ । सरकारले नदी किनार तथा जोखिमयुक्त क्षेत्रमा रहेका नागरिकलाई सुरक्षित स्थानमा सर्न र अनावश्यक रूपमा नदी तथा बाढी प्रभावित सडकमा नजान आग्रह गरेको छ ।
बुधबार बिहान करिब साढे ८ बजेतिर चीनको तिब्बततर्फबाट आएको आकस्मिक बाढी भोटेकोशी नदीमा प्रवेश गरेपछि रसुवाको सीमावर्ती क्षेत्र प्रभावित भएको हो । बाढीको कारणबारे आधिकारिक निष्कर्ष आइसकेको छैन । प्रारम्भिक रूपमा तिब्बततर्फ पहिरोले नदी थुनेपछि अचानक पानी खुलेको हुनसक्ने अनुमान गरिएको छ ।
सम्पर्कविहीनको संख्या र मृतकको विवरण अझै परिवर्तन हुनसक्ने भएकाले उद्धार तथा खोजी कार्यसँगै क्षतिको अद्यावधिक विवरण संकलन भइरहेको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया