काठमाडौं । संघीय संसदको बैठकलाई थप मर्यादित र अनुशासित बनाउन सभामुख डोलप्रसाद अर्यालले सांसदका लागि नयाँ आचारसंहिता लागू गर्ने तयारी गरेका छन् । अब संसद बैठकमा कालो चश्मा लगाउन नपाइने, मर्यादित पोशाकसहित लोगो अनिवार्य लगाउनुपर्ने र बैठक चलिरहँदा अत्यावश्यक अवस्थाबाहेक बाहिर निस्किन नपाइने व्यवस्था गरिने भएको छ ।
बुधबार बसेको कार्यव्यवस्था तथा परामर्श समितिको बैठकमा सभामुख अर्यालले सबै दललाई आफ्ना सांसदलाई नयाँ व्यवस्था कार्यान्वयनका लागि तयारी गराउन निर्देशन दिएका हुन् । बैठकमा कालो चश्मा लगाएर उपस्थित भए सम्बन्धित सांसदलाई बैठकबाट बाहिर निकालिने चेतावनीसमेत दिइएको छ ।
उपसभामुख रुबीकुमारी ठाकुरका अनुसार प्रतिनिधिसभाको नयाँ भवनमा प्रवेश गरेपछि यी नियम कडाइका साथ लागू हुनेछन् । उनले मर्यादित पोशाक, कोट र लोगो नलगाई वा कालो चश्मा लगाएर आउने सांसदलाई प्रवेशद्वारबाटै रोक्ने तयारी गरिएको जानकारी दिइन् ।
सभामुख अर्यालले संसद बैठकका क्रममा सांसदहरू बारम्बार बाहिरिने प्रवृत्तिमा पनि असन्तुष्टि जनाएका छन् । उनका अनुसार अब बैठक चलिरहेका बेला वासरुम, चिया–कफी, खाजा वा अत्यावश्यक फोनबाहेक अन्य कारणले बाहिर जान नपाइने सहमति भएको छ ।
स्वास्थ्य अवस्थाका कारण कालो चश्मा अनिवार्य प्रयोग गर्नुपर्ने सांसदले भने चिकित्सकको सिफारिससहित मेडिकल प्रमाणपत्र पेश गर्नुपर्ने व्यवस्था गरिने सभामुख सचिवालयले जनाएको छ ।
संसद सचिवालयको अभिलेखअनुसार हालसम्म प्रधानमन्त्री बालेन्द्र शाह, गृहमन्त्री सुधन गुरुङ, पूर्वाधारमन्त्री सुनील लम्सालसहित केही मन्त्री र सांसदहरू बैठकमा कालो चश्मा लगाएर उपस्थित हुने गरेका छन् । कतिपय मन्त्रीले लोगोसमेत नलगाई बैठकमा सहभागी हुने गरेका छन् ।
फेसबुकबाट तपाईको प्रतिक्रिया