बेलायत पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ

74 Shares

काठमाडौं । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभन देखाएर बेलायत पठाइदिन्छु भन्दै सात लाख रुपैयाँ ठगी गरेको आरोपमा धनुषाका एक युवक पक्राउ परेका छन्।

पक्राउ पर्नेमा धनुषाको जनकनन्दिनी गाउँपालिका–२ का रिजवान शेष रहेका छन्। उनलाई मङ्गलबार काठमाडौँबाट पक्राउ गरिएको केन्द्रीय प्रहरी समाचारकक्षले जनाएको छ।

प्रहरीका अनुसार शेषले वैदेशिक रोजगारीको अवसर देखाउँदै पीडितसँग बेलायत पठाइदिने आश्वासन दिएका थिए। त्यसक्रममा आकर्षक तलब, राम्रो काम र सुरक्षित रोजगारीको प्रलोभन देखाई उनले पीडितबाट रु सात लाख ठगी गरेको अभियोग लागेको छ।

पीडितले दिएको उजुरीका आधारमा प्रहरीले उनलाई काठमाडौँ महानगरपालिका–३१ क्षेत्रबाट पक्राउ गरेको हो। पक्राउपछि आवश्यक अनुसन्धान तथा कानुनी कारबाहीका लागि उनलाई वैदेशिक रोजगार विभाग, ताहाचल, काठमाडौँ पठाइएको प्रहरीले जनाएको छ।

प्रहरीले वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने गिरोह सक्रिय रहेको भन्दै यस्ता प्रलोभनमा नपर्न सर्वसाधारणलाई सचेत रहन आग्रह गरेको छ। विदेश जानु अघि आधिकारिक प्रक्रिया, म्यानपावरको वैधता र सम्झौतापत्रबारे पूर्ण जानकारी लिएर मात्र अघि बढ्न प्रहरीले सुझाव दिएको छ।