रौतहट । रौतहटको गुजरा नगरपालिका–३ धनसार पुल नजिक पूर्व–पश्चिम राजमार्गमा पेट्रोल बोकेको ट्याङ्कर पल्टिएपछि आगलागी हुँदा पूर्ण रूपमा जलेर नष्ट भएको छ। घटनामा मानवीय क्षति भने भएको छैन।
जिल्ला प्रहरी कार्यालय रौतहटका अनुसार आज बिहान करिब ५:३० बजे बाराको अमलेखगञ्जबाट सर्लाहीतर्फ जाँदै गरेको मधेस प्रदेश ०३–००१ ख ७८११ नम्बरको पेट्रोल ट्याङ्कर सडकमा आएको मृगलाई बचाउने क्रममा अनियन्त्रित भई सडकको दाहिनेपट्टि पल्टिएको थियो।
ट्याङ्कर पल्टिएलगत्तै आगलागी भएको प्रहरीले जनाएको छ। घटनाको जानकारी प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुर, जिल्ला ट्राफिक प्रहरी कार्यालय चपुरको प्रहरी टोली तथा चन्द्रपुर नगरपालिका र निजगढ नगरपालिकाका दमकल घटनास्थलमा पुगेर आगो नियन्त्रणमा लिएका थिए।
आगलागीबाट ट्याङ्कर पूर्ण रूपमा क्षति पुगेको भए पनि कुनै मानवीय क्षति नभएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी नायब उपरीक्षक बसन्त गौतमले जानकारी दिए।
उनका अनुसार ट्याङ्कर चालक बाराको सिमरा उपमहानगरपालिका–११ निवासी २५ वर्षीय समिर गुरुङलाई नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान अघि बढाइएको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया