काठमाडौं । पाकिस्तानको काराकोरम क्षेत्रमा अवस्थित विश्वको १२औँ अग्लो हिमाल ब्रोड पिक (८,०४७ मिटर) मा गएको विनाशकारी हिमपहिरोले नेपाली पर्वतारोहण क्षेत्रलाई गहिरो शोकमा डुबाएको छ।
उद्धार अभियानमा अन्तिम क्षणसम्म खटिएका वरिष्ठ नेपाली पर्वतारोही मिङमा डेभिड शेर्पाले स्वदेश फर्किनुअघि फेसबुकमार्फत सार्वजनिक गरेको भावुक सन्देशले पर्वतारोहण समुदाय मात्र होइन, हजारौँ नेपालीलाई भावुक बनाएको छ।
उद्धार टोलीको नेतृत्व गरेका शेर्पाले आफ्नो सन्देशमा साथी पर्वतारोही युक्त गुरुङलाई अन्तिम क्षणसम्म बचाउन सक्दो प्रयास गरिएको भए पनि नियतिलाई जित्न नसकिएको पीडा व्यक्त गरेका छन्।
‘हामीले अन्तिम क्षणसम्म तपाईंलाई बचाउन सक्ने हरेक सम्भव प्रयास गर्यौँ। तर अत्यन्त दुःखका साथ स्वीकार्नुपरेको छ कि हामी सफल हुन सकेनौँ। त्यसका लागि हामी साँच्चै दुःखी छौँ,’ उनले लेखेका छन्।
शेर्पाले युक्त गुरुङलाई केवल एक पर्वतारोहीका रूपमा नभई सपना, साहस, संघर्ष र समर्पणको प्रतीकका रूपमा स्मरण गरेका छन्।
‘तिमी केवल एउटा शरीर होइनौ। तिमी आफ्ना सपना, साहस, संघर्ष र अमिट विरासत हौ। तिम्रो नाम र साहसले आउने पुस्तालाई पनि प्रेरणा दिइरहनेछ,’ उनले उल्लेख गरेका छन्।
मिङमा डेभिड शेर्पाले आफूहरूबीचको सम्बन्ध केवल सहकर्मी पर्वतारोहीको नभई सुख–दुःखका सहयात्रीको रहेको बताएका छन्। सँगै गरेका हिमाल आरोहण, कठिन परिस्थितिमा बिताएका दिन, सफल शिखर यात्रा र उत्सवका क्षणहरू आफ्नो जीवनका अमूल्य सम्झना बनेर रहने उनले उल्लेख गरेका छन्।
‘हामीले सँगै धेरै हिमाल चढ्यौँ। धेरै कठिन यात्राहरू पार गर्यौँ। सफल शिखरहरूमा सँगै उभियौँ। ती सबै खुसीका क्षणहरू अब मेरो जीवनका अमूल्य सम्झना बनेर रहनेछन्,’ उनले लेखेका छन्।
यसअघि पाकिस्तानबाट पटक–पटक सफल आरोहणपछि खुसीका साथ स्वदेश फर्किएको स्मरण गर्दै शेर्पाले यसपटकको यात्रा भने आफ्नो जीवनकै सबैभन्दा दुःखद् बनेको बताएका छन्।
‘म धेरै पटक पाकिस्तानबाट खुसी बोकेर नेपाल फर्किएको छु। तर यस पटक अत्यन्त भारी र टुटेको मन लिएर फर्किँदैछु। मसँग अब सफलताको खुसी छैन, केवल युक्तका सम्झनाहरू छन्। साथै, उनको पार्थिव शरीरलाई सम्मानका साथ स्वदेश ल्याउने जिम्मेवारी पनि छ,’ उनले उल्लेख गरेका छन्।
आज युक्त गुरुङको पार्थिव शरीर नेपाल ल्याइँदै
शेर्पाकाअनुसार नेपाल सरकार, पर्यटन विभाग र नेपाल पर्वतारोहण संघ (एनएमए)को समन्वयमा युक्त गुरुङको पार्थिव शरीर स्वदेश ल्याउने सम्पूर्ण प्रक्रिया पूरा गरिएको छ।
उनी अगस्ट ६ मा कतार एयरवेजको उडानमार्फत साँझ ४:४५ बजे युक्त गुरुङको पार्थिव शरीरसहित काठमाडौं आइपुग्ने कार्यक्रम रहेको छ।
उद्धार अभियानदेखि पार्थिव शरीर स्वदेश ल्याउने प्रक्रियासम्म सहयोग पुर्याउने नेपाल सरकार, पर्यटन विभाग, नेपाल पर्वतारोहण संघ, सम्पूर्ण पर्वतारोहण समुदाय, परिवार, आफन्त तथा प्रार्थना र ऐक्यबद्धता जनाउने सबैप्रति शेर्पाले हार्दिक आभार व्यक्त गरेका छन्।
आफ्नो सन्देशको अन्त्यमा शेर्पाले युक्त गुरुङप्रति श्रद्धाञ्जली अर्पण गर्दै लेखेका छन्, ‘हिमालले तिमीलाई हामीबाट टाढा लग्यो होला, तर तिम्रा सम्झनाहरू कहिल्यै टाढा जाने छैनन्। तिम्रो साहस, तिम्रा सपना र तिम्रो विरासत सधैँ जीवित रहनेछ। तिमीले हिमालमा लेखेको इतिहासले पुस्तौँसम्म प्रेरणा दिइरहनेछ।’
फेसबुकबाट तपाईको प्रतिक्रिया