रास्वपाकाे प्रथम महाधिवेशन अन्तर्गत आज ९९ केन्द्रीय सदस्यका लागि मतदान जारी

11 Shares

काठमाडाैं । चितवनमा जारी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशन अन्तर्गत बुधबार मध्यरातदेखि मतदान जारी रहेकाे छ।

महाधिवेशन शुरु भएको पाँचौ दिनमा ९९ पदका लागि विद्युतीय मतदान हाल जारी रहेकाे हो । मतदान बिहीबार बिहान १० बजेसम्म हुने भएकाे छ। ९९ पदका लागि ३ सय ८४ जनाले उम्मेदवारी दर्ता गराएका थिए । उम्मेदवारविरुद्ध परेका दाबी–बिरोधको छानबिन, उम्मेदवारी खारेजी तथा फिर्ता लिने क्रमपछि अन्तिम सूचीमा २ सय ४ जनाको मात्रै उम्मेदवारी कायम गरिएको छ ।

पहिलो चरणमा सभापति र ९९ केन्द्रीय सदस्यको चुनाव हुने रास्वपाको विधानमा व्यवस्था छ । सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित भइसक्नुभएको छ । ९९ केन्द्रीय सदस्यका लागि भने मतदान जारी रहेकाे रास्वपा निर्वाचन आयाेगले जनाएकाे हाे । यसैबीच महाधिवेशनमा देखिएको भद्रगोल व्यवस्थापनप्रति रास्वपाका प्रतिनिधिहरूले असन्तुष्टि व्यक्त गरेका छन् ।

बन्दसत्र र निर्वाचन प्रक्रिया पटक-पटक प्रभावित भएर महाधिवेशन लम्बिएपछि कतिपय प्रतिनिधि घर फर्किएका छन् । पार्टीको भावी दिशा तय गर्ने राजनीतिक दस्तावेजमाथि समेत प्रयाप्त छलफल हुन नसकेकाे प्रतिनिधिहरूले गुनासो गरेका हुन् ।