
काठमाण्डौ । नेपाल नागरिक उड्डयन प्राधिकरणले आन्तरिक उडानको हवाई भाडादर सार्वजनिक गरेको छ ।
चाडपर्वको बेला एअरलाइन्स कम्पनीहरुले जथाभावी भाडा लिएको गुनासो आइरहेका बेला प्राधिकरणले विभिन्न रुटको अधिकतम भाडादर सार्वजनिक गरेको हो ।
नेपाल सरकारबाट स्वीकृत तोकिएको अधिकतम भाडादरभन्दा बढी रकम नलिन वायु सेवा कम्पनी र सरोकारवालालाई निर्देशन दिइसकेको पनि प्राधिकरणले जनाएको छ ।
तोकिएको भन्दा बढी भाडा लिएमा कारबाही गर्ने प्राधिकरणको चेतावनी छ । प्राधिकरणले सार्वजनिक गरेको भाडासूची अनुसार सबैभन्दा धेरै भाडा काठमाण्डौ –धनगढीको १७ हजार पाँच सय ७९ रुपैयाँ र सबैभन्दा कम भाडा काठमाण्डौ –सिमराको तीन हजार नौ सय ७८ रुपैयाँ छ ।
यस्तै काठमाडौं–नेपालगञ्जको १३ हजार एक सय तीन रुपैयाँ, काठमाण्डौ –भद्रपुरको १२ हजार १ सय १२ रुपैयाँ, काठमाण्डौ –विराटनगरको भाडा नौ हजार सात सय ८५ रुपैयाँ र काठमाण्डौ –सुर्खेतको नौ हजार ३० रुपैयाँ भाडा रहेको छ ।
काठमाण्डौ –पोखराको भाडा अधिकतम ६ हजार ६ सय ३५ रुपैयाँ रहेको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया